संसद्मा शून्य समय: मेलम्ची वाचामै सीमित नपार्न ध्यानाकर्षण



काठमाडौं, (नेस)।मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसी काम छोडेर भागेपछि अलपत्र रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सरला कुमारी यादवले सरकारको ध्यानाकर्षण गर्नुभएको हो।

‘मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारी पक्षको पटकपटकको वाचा वाचामै सीमित हुन पुगेको छ।’, उहाँले बुधबारको बैठकको शून्य समयमा बोल्दै भन्नुभयो– ‘पानी ल्याएर बाचा पूरा गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उहाँले २०७२ सालदेखि मेलम्चीको पानी काठमाडौंमा खस्ने भन्दै आए पनि २०७६ सम्म पनि पानी नआउँदा उपत्यकावासी आशैआशमा बाँच्न बाध्य भएको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो– ‘ठेकेदार कम्पनीले काम छोडेर गएपछि आयोजना अलपत्र अवस्था छ। तसर्थ छिटोभन्दा छिटो अलपत्र परेको काम पुरा होस्।’

उहाँले मेलम्चीको काम ९७ प्रतिशत सम्पन्न भए पनि इटालियन ठेकेदार कम्पनीले पाउने रकम विवाद देखाएर काममा बाँकी काम पूरा गर्न सरकारले ढिलाइ गरेको आरोपसमेत लगाउनुभयो।

पछिल्लोपटक मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाएर चिनियाँ कम्पनी छनोट गरे पनि किचलो भइरहेको छ।

सीएमसीले करारमा लिएका मजदुर र स्थानीय सप्लार्यसले तलब नपाएको विषयमा सरकारसँग उक्त रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिरहेका छन्।

स्थानीय प्रशासनले मेलम्चीको मुहान क्षेत्र अम्बाथानलगायत स्थानमा निषेधित क्षेत्र घोषणासमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्