पहिरोले सभाखोलामा ताल ५० बढी परिवारले घर छाडे



संखुवासभा, (नेस)। संखुवासभाको सभापोखरी गाउँपालिका ४ को फाक्सिबुङमा बुधबार दिउँसो गएको पहिरोले सभाखोला थुनिएर ठूलो ताल बनेपछि खोला किनारलगायत बाह्रविसे बजारका बासिन्दा त्रसित बनेका छन्।

३ दिनअगाडि देखि परेको अविरल वर्षाका कारण बुधबार दिउँसो २ बजे सभापोखरी–४ फाक्सिबुङमा ५ सय मिटरमाथिबाट डाँडै झरी पहिरोले सभाखोलामा ठूलो ताल बनाएपछि खोला किनारका बासिन्दा त्रसित बनेका हुन्।

पहिरोले खोला थुनिएर करिब ३ सय मिटर लामो, ५० मिटरभन्दा गहिरो ताल बनेको सभापोखरी गाउँपालिका ६ का वडाअध्यक्ष विकास पौडेलले बताउनुभयो। उहाँले अहिले पानीको बहाव माथिबाट बग्न थालेको छ।

अहिले पनि पानी परिरहेकोले पानीको बहाव बढी थुनिएर बनेको ताल एकै पटक फुटेमा सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारलगायत खोला किनारका वस्ती उच्च जोखिमा रहेका छन्।

पानीको बहाव बढी ताल फुटेमा तल्लो तटीय क्षेत्रलगायत अन्नबालीमा ठुलो क्षति पुर्याउने वडाअध्यक्ष पौडेलले थप बताउनुभयो।

पहिरोले बनाएको ताल कुनै पनि बेला फुट्न सक्ने आशंकामा अहिले बाह्रबिसे बजारका ५० घरभन्दा बढी घरपरिवार घर छाडी सुरक्षित स्थानमा बसेका बताइएको छ।

पहिरो गएको स्थानमा बस्ती नभएकाले मानवीय क्षति नभए पनि चौपाय भने क्षति भएको हुन सक्ने आशंका गरिएको छ। घटनास्थल जिल्लाको सदरमुकाम खाँदबारीबाट १ दिनको पैदल टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्