चौरासीपुजाको खर्चबाट बिद्यालयलाई सहयोग



पर्वत । पर्वतको कुस्मा नगरपालिका १४ आर्थर बड्गाउँ निवासी राजकुमारी गुरुङले ८४ पुजाको अवसरमा बिद्यालयलाई नगद सहयोग गर्नुभएको छ ।

गुरुङ्गले कुस्मा नगरपालिका वडा नं १४ स्थित पञ्चकोशी माबिमा एक लाख १ हजार नगद सहयोग गर्नुभएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा र प्रअ प्रकाश सापकोटलाई समाजसेवी गुरुङ्गले नगद हस्तान्तरण गर्नुभएको थियो । बिद्यालयको शैक्षिक र भौतिक बिकासका लागि सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको छोरा कमल गुरुङले बताउनुभयो ।

पञ्चकोशी आर्थर डाडाँखर्क समाज युकेका पुर्ब अध्यक्ष समेत रहनुभएका कमल गुरुङ्गको नेतृत्वमा पञ्चकोशी माबिमा यस अघि ११ लाख भन्दा बढीको लागतमा तारबार, पर्खाल र गेट निर्माण गरिएको थियो । गुरुङ्गले पञ्चकोशी माबि लगायतका शैक्षिक र स्थानिय सामाजिक कार्यहरुमा निरन्तर सहयोग गर्दै आउनुभएको छ ।

पञ्चकोशी माबिलाई स्वदेश र बिदेशमा रहेका आर्थर डाडाँखर्कबासीहरुले निरन्तर रुपमा चौरासीपुजा, अघौ, बिबाह लगायतका उत्सब तथा धार्मिक कार्यहरुमा सहयोग गर्दै आएका कारण बिद्यालय शैक्षिक र भौतिक बिकासका लागि धेरै काम गर्न सकेको प्रधानाध्यापक प्रकाश सापकोटाले बताउनुभयो । पञ्चकोशी माबिको शैक्षिक ,भौतिक बिकासका लागि गाउँबासीको सहयोगको सधै अपेक्षा रहने उहाँको भनाई छ ।
चौरासी पुजालाई बौद्ध धर्मालम्बीहरुले आयुपुजा भन्ने गर्दछन । समाजसेवी राजकुमारी गुरुङ्गको आयुपुजाका अवसरमा बौद्ध धर्मको सबैभन्दा पबित्र ग्रन्ध त्रिपीटक पाठ(कङक्युर) समेत सम्पन्न भएको छ । आयु पुजाकै अवसरमा गुरुङ्ग परिवारले पोखरा रामघाट स्थित बौद्ध अर्घौ सदनलाई १ लाख ५१ हजार, लामिछाने भाईखलकलाई १ लाख २१ हजार र पञ्चकोशी आर्थर डाडाँखर्क समाज पोखरालाई १ लाख १० हजार नगद सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्