दूधकोशी जलविद्युतको ईआईए प्रतिवेदन सार्वजनिक



रामधन राई, खोटाङ।राज्यको प्राथमिकतामा रहेको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन सार्वजनिक गरिएको छ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन खोटाङमा सार्वजानिक गरिएको हो।

खोटाङको रावाबेंसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमास्थित रभुँवाघाटमा निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको सारांश सार्वजानिक गरिएको हो।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, पूर्व सभासद् दुर्गाजयन्ती राई, आयोजना प्रमुख बसन्तध्वज श्रेष्ठलगायत सरोकारवालाहरूको उपस्थितिमा आयोजनाको वातावरणीय तथा सामाजिक प्रभाव सहितको प्रतिवेदन प्रस्तुत भएको छ।

नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा सरोकारवालाको सुझाव संकलन गरिएको छ।आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बूका ११ सय ५० घरधुरी भएका स्थानीयबासी विस्थापित हुने प्रतिवेदनमा उल्लेख छ।

रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ।

१ सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाउने लक्ष्य राखिएको छ। आयोजनाका लागि एसियाली विकास बैङ्क एडीबीले ५० अर्ब लगानी गर्ने सहमति भएको जनाइएको छ।

दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाज समेत गठन गरिएको छ। यसअघि, हलेसी तुवाचुङ नगरपालिकाको धितुङ र रावावेंसी गाउँपालिकाको रम्भुवावजारमा सार्वजानिक सुनुवाई भईसकेको छ।

आयोजना सम्पन्न गर्न स्थानीयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उचित मुआव्जाको व्यवस्था, यथासक्य आयोजनाको कामलाई तिव्रता दिनुपर्ने स्थानीय तथा सरोकारवालाको सुझाव छ।

 

प्रतिक्रिया दिनुहोस्