म्याग्दीको जगन्नाथ मन्दिरमा १२ घण्टे अखण्ड किर्तन



प्रताप बानियाँ,म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजनेमा रहेको जगन्नाथ मन्दिरमा १२ घण्टे अखण्ड किर्तन गरिएको छ।

रघुगंगा तथा मंगला गाउँपालिका र बनेपाअन्तर्गत विभिन्न वडाका स्थानीयले सोमबार बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म मन्दिर परिसरमा अखण्ड कीर्तन गरेका हुन्।

चौमास व्रतअन्तर्गतको हरिपरिवर्तनी एकादशी पर्वको अवसर पारेर धार्मिक क्षेत्रमा अखण्ड किर्तन गरिएको जगन्नाथ मन्दिरले जनाएको छ।

पाखापानी, वाखेत, गाजने र पूर्णगाउँका स्थानीयवासी आइतबार साँझ जगन्नाथ मन्दिरमा भेला भई रातिबाट अखण्ड किर्तन गरिएको जगन्नाथधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले जानकारी दिएका छन्।

अखण्ड किर्तनमा करिब १ सय ५० जनाले सहभागिता जनाएका थिए। आषाढ शुक्लपक्षदेखि कार्तिक शुक्लपक्षसम्म वैकुण्ठधामबाट भगवान् विष्णु पनि पातालमा आएर बस्ने हुँदा उनैको नाम पारेर अखण्ड हरिकिर्तनका साथै चौमास व्रत बस्ने गरिएको सचिव शर्माको भनाइ छ।

आजैको दिन अर्थात् हरिपरिवर्तनी एकादशी तिथिको दिनमा भगवान् विष्णुले कोल्टे फेर्ने गरेको किम्बदन्ती रहेको छ।

गाउँघरमा हराउँदै जान थालेको भजनकीर्तन गाउने कार्यलाई जोगाउन लागि मन्दिर परिसरमा कीर्तन गरिएको सहभागीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्