अख्तियारले माग्यो डोटीका सबै स्थानीय तहसँग कागजात



विमल विष्ट,डोटी। डोटीका नौ वटा स्थानीय तहहरूले खरिद गरेका यातायातका धनहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको ध्यान गएको छ।

आफू खुसी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार प्रकासित भएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरिदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको बताइएको छ।

यातायातका साधन खरिदमा मनोमानी गरेको भन्दै स्थानीय तहसँग आयोगको कञ्चनपुर कार्यालयले कागजात माग गरेको जनाइएको छ।

आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले स्थानीय तहले सवारी साधन खरिद गरेको बारेमा धेरै उजुरी आएकाले सवारी साधन खरीद प्रक्रियासँग सम्बन्धित कागजपत्र माग गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘गाडी खरिदको विषयमा उजुरी परेपछि हामीले कागजात मागेका छौँ, केही स्थानीय तहले कागजपत्र बुझाइ पनि सकेका छन्, केहीले अब बुझाउँछन् होला।’

कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका स्थानीय तहले २०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्म रु १० करोड ९३ लाख ८६ हजार रुपियाँ मूल्यका सवारी साधन खरिद गरेका छन्।

डोटीको जिल्लाको पूर्वीचौकी गाउँपालिकाले सवारी साधन खरिदमा सबैभन्दा बढी खर्च गरेको छ। उक्त गाउँपालिकाले रु २ करोड ६७ लाख ५५ हजार रुपियाँ गाडी खरिदमा खर्च गरेको छ। १० मोटरसाइकल खरिदमा रु २४ लाख ९७ हजार २००, पिकअप जिप खरिदमा रु ३७ लाख २० हजार, एक्जाभेटर खरिदमा रु एक करोड २३ लाख ६२ हजार तथा दुईवटा बस खरिदमा रु ८१ लाख ७६ हजार रुपियाँ खर्च भएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो।

त्यस्तै शिखर नगरपालिकाले सवारी साधान खरिदमा रु १ करोड ५४ लाख २९ हजार रुपियाँ खर्च गरेको छ।

दिपायल सिलगढी नगरपालिकाले सवारी साधन खरिदमा रु १ करोड ६ लाख ८७ हजार रुपियाँ खर्च गरेको छ भने बडीकेदार गाउँपालिकाले रु १ करोड ८१ लाख ७९ हजार रुपियाँ खर्च गरेको देखिएको छ।

त्यसैगरी सायल गाउँपालिकाले रु १ करोड ५६ लाख १६ हजार, केआईसिंह गाउँपालिकाले रु ९३ लाख ८२ हजार, बोगटान गाउँपालिकाले रु ७६ लाख १३ हजार, जोरायल गाउँपालिकाले रु ५८ लाख ३८ हजार तथा आदर्श गाउँपालिकाले सवारी खरिदमा रु ५७ लाख २२ हजार रुपियाँ खर्च गरेको देखिएको छ।

स्थानीय तहले खरिद गरेका एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य भने फरकफरक रहेको पाइएपछि अख्तियारमा उजुरी परेको हो।

एउटै कम्पनी तथा एउटै खालका सवारी साधनको मूल्य कसरी गाउँपालिकामा फरकफरक भयो यो विषयमा डोटीमा निकै खैलाबैला मच्चिरहेको छ।

जनताको विकासका लागि आएको बजेट स्थानीय तहका जनप्रतिनिधिले आफूखुसी गाडी किन्नमै सकेको भन्दै यहाँका स्थानीयहरू निकै आक्रोसित भएको दिपायलका स्थानीय जगत्बहादुर बमले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘विकासका लागि आएको बजेटमा जनप्रतिनिधिले आफ्नो स्वार्थका लागि खर्च गर्नु राम्रो पक्ष होइन।’

 

प्रतिक्रिया दिनुहोस्