शंखधर संग्रहालय निर्माणमा जोड



पुष्कर बुढाथोकी, भक्तपुर।नेपाल संवत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

राष्ट्रिय विभूती शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको नेपाल संवत् एवम् राष्ट्रिय शंखधर संग्राहलय विषयक बृहत् छलफल कायक्रममा सरोकारवालाले यसबारे सरकारको ठोस धारणा बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल सरकारले शंखधरलाई राष्ट्रिय विभूतिको रूपमा स्वीकारेको सन्दर्भमा प्रदेश सरकारले आफ्नो तहमा निर्णय गरी नेपाल संवतलाई व्यवहारिक प्रयोगमा ल्याउन केन्द्र सरकारलाई सिफारिस गर्ने बताउनुभयो।

उहाँले प्रदेश सरकारले नेपाल संवत्लाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन र संग्रहालय निर्माणमा चौतर्फी सहयोगको वातावरण निर्माण गर्ने बताउनुभयो।

मुख्यमन्त्री पौडेलले देशकै नामबाट प्रचलित नेपाल संवत्लाई व्यवहारिक प्रयोगमा ल्याउन बनाइने समितिमा सबै समुदायका सरोकारवालालाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो।

सरकारले प्रदेश ३ मा शंखधर पार्क बनाउने तयारी गरिरहेको बताउँदै उहाँले जनताको ऋण मोचन गरेर मौलिक संवत् चलाउने व्यक्तित्व कुनै जात विशेषको मात्र नहुने उल्लेख गर्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद महेश बस्नेतले विक्रम संवत र इस्वी संवत्का तिथिमितिमा समेत तालमेल मिलाएर नेपाल संवतलाई आमजनताले प्रयोग गर्ने विधि खोज्नुपर्नेमा जोड दिनुभयो।

नेपाल संवतको व्यवहारीक प्रयोग र राष्ट्रिय शंखधर संग्रहालय निर्माणका लागि स्पष्ट ऐन,कार्यविधि र नीति बनाएर जानुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट यसका लागि सक्दो सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात विशेषको मात्र नभएको बताउँदै उनलाई नेवार समुदायले आफ्नो पेवा जस्तो नबनाएर सबैको साझा बनाउन सक्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा प्रदेश सांसद प्रतिमा श्रेष्ठ र सरस्वती बाटीले सरकारले राष्ट्रिय मान्यता दिएर मात्र नहुने बताउँदै यसलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो।

राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानांगले दुई तिहाई जनताको मतबाट बनेको सरकारले जनताको ऋणमोचन गरी शंखधरले चलाएको मौलिक संवतलाई राष्ट्रियरूपमा प्रयोगमा ल्याउनुपर्ने र बन्न लागेको संग्राहलयलाई अनुसन्धान केन्द्रको रूपमा लैजानुपर्ने बताउनुभयो।

नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य दैवज्ञकिर्तीमदन जोशीले सरकारले पर्व सुधारसहित एउटा आयोग बनाएर नेपाल संवत्को प्रयोगमा हुन सक्ने र देखिएका अप्ठ्यारा फुकाउँदै यसको पात्रो र क्यालेन्डर बनाउनुपर्ने बताउनुभयो।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले संग्राहलय निर्माणमा नगरपालिकाको सहयोग रहने बताउँदै यसलाई पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्