प्रहरीका तीन बहुउद्देश्यीय भवनको शिलान्याश



नेपाल समाचारपत्र, काठमाडौं।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभयो।

शिलान्यासपछि नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्त हुनु आफैंमा उपलब्धि भएको चर्चा गर्दै सबै भवनको काम पारदर्शी हुने बताउनुभयो।

विगत २५ वर्षदेखि धेरैको दयमा बस्न सफल पुलिस क्लवले आगामी दिनमा अपेक्षाअनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

प्रहरी महानिरीक्षक खनालले जसरी भवनहरू सुन्दर हुन्छन, त्यसैगरी प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् इमान्दारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैब कटिबद्ध रहेको बताउनुभयो।

नयाँ भवनमा अपराध महाशाखा तथा परिसरमा कसुरअनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचनासमेत हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानुन सम्मत, सेवाग्राहीमैत्री र पारदर्शीरूपमा गर्नुपर्ने बताउनुभयो।

अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्।

मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ।’

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ई. लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनालाई समयमै तोकिएको गुणस्तरसहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा विगतको भन्दा उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगट्ने छ।

सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ।

२६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लबको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगट्ने छ। तीनवटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ।

नवनिर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको भवन आधुनिक साथै सुबिधायुक्त एवं कार्यालयको कार्य प्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेस र बाथरुम आदिको व्यवस्थापन गरिने छ।

सेवाग्राहीले सहजताका साथ सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आवश्यक संख्यामा कार्यालय कक्ष, प्रतिक्षालय, चमेनागृह र खुल्ला स्थानको उत्तम एवं सुरक्षित प्रबन्ध गरिने छ।

दुवै संरचनामा भूकम्प प्रतिरोधात्मक, अपांगमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै बेसमेन्ट पार्किङको समेत व्यवस्था गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्