“हावा महल”को निर्माता र राष्ट्रप्रेमीको एकता



इन्द्रकुमार श्रेष्ठ

राजनीतिक संस्कार नबसेको मुलुकमा राजनीति सेवा नभएर पेसा वा व्यवसाय बनेपछि र ‘कानुनीराज’ भन्ने कुरा कागजमा मात्र चल्न थालेपछि सचेत नागरिकले सन्तोष मान्ने ठाउँ कतै पनि हुँदो रहेनछ।

यो अवस्थामा, पुराना–पुराना काण्डका कुराहरू दोहोर्यायो, अपराधहरू सम्झेर मन खिन्न पार्यो, भ्रष्टाचारहरूको लेखाजोखा गर्यो।

सरकारका क्रियाकलापप्रति जति नै प्रश्न उठाए पनि रचनात्मक उत्तर पाउने लक्षण देखिँदैन। यो सबैको मनमा छ। अब मनको कुरो बिस्तारै मुखमा पनि आउला। सचेत र पीडितहरूबीच सहकार्य र एकता पनि होला। नेतृत्ववर्गले गल्ती महसुस गरेर गोहीका आँसु झार्ने समय पनि आउला। तर त्यो बेलासम्म फेरि अर्को सच्चा क्रान्तिका लागि राष्ट्रप्रेमी नेपालीको एकता भैसकेको हुनुपर्नेछ।

कसका पालामा कसले के–कति भ्रष्टाचार गर्यो भनेर अंक सम्झने प्रयास गर्यो। कुन सरकारका पालामा कुन–कुन काण्डहरू भए भनेर साथीभाइ भेटघाट हुँदा छलफल गर्यो।

क्रमशः पछिल्ला सरकारका पालामा त्यस्ता कुकर्महरू नयाँ–नयाँ थपिएका भए, त्यो पनि ‘चियागफ’ मा झर्को नमानी जोडेर बखान गर्यो।

केही समयपछि अरू थपिन्छन्। सम्झेर साध्य नभएपछि पुराना छोडेर पछिल्ला नयाँ–नयाँ काण्डहरूको चर्चा गर्यो। ‘यो देशमा यस्तै हो’ भन्यो। ‘यहाँ केही पनि हुँदैन’ भन्यो। केही दशकदेखि हाम्रो दिनचर्या यस्तै भएको छ।

यसरी यता नागरिकको दैनिकी पनि जसोतसो चलेकै छ र उता सरकार झन् मजाले चलेकै छ।एकपटक राजा अकबरले वीरबललाई एउटा ‘हावा महल’ बनाउने विषयमा कुरा गरेछन्।

अत्यन्त चतुर र बुद्धिमान् वीरबलले एकछिन् गम खाएर ‘त्यो बनाउन त समय र खर्च धेरै नै लाग्ने’ बताएपछि अकबरले ‘जति लागे पनि लागोस्, खर्च राज्यकोषबाट व्यहोरिनेछ तर बनाउनुचाहिँ पर्छ’ भनेछन्।

‘हावा महल’ बनाउन वीरबल राजी भएपछि त्यसका लागि उनले उतिखेरै दरबारबाट मोटो रकम पनि पाइहालेछन्।‘हावामहल’ बनाउने क्रममा वीरबल एक वर्ष अलप भएछन्। यसबीचमा वीरबलले बीसवटा सुगालाई तालिम दिलाएछन्।

वर्षको अन्त्यमा अकस्मात् प्रकट भएर वीरबलले ‘महल तयार भयो’ भन्ने खबर दरबारमा पठाएपछि अकबर पनि उच्चपदस्थ सुरक्षासहित बडो खुशी र उत्सुकतापूर्वक त्यो हेर्न गएछन्। तालिमप्राप्त सुगाहरू चारवटा पिँजडाभित्र ल्याइएका थिए।

अकबरले हावामहल हेर्न यताउता नजर डुलाउन थालेपछि, वीरबलको मौन संकेतमा ती चारैवटा पिँजडाहरू एकैचोटि खोलिएछन्।

भुरुर्र बाहिर निस्केका सुगाहरू त्यतैतिरका रूखमा घेरिएर बस्दै कराउन थालेछन्, ‘ढुंगा ल्याओ, माटो ल्याओ, काठ ल्याओ, गारो लाओ, छिटो गर, महल बनाओ !’

त्यहाँको त्यो गतिविधि देखी राजा अकबरले छक्क परेर प्रश्न गरेछन्, ‘यो के हो वीरबल ? ‘हावा महल’ कहाँ छ ? छिटो देखाऊ ! मलाई हेर्न एकदम हतार भैसक्यो।’

वीरबलले सजिलै उत्तर दिएछन्, ‘यही अगाडिको त हो नि, देख्नुभएन महाराज ? यत्रो महल कत्रो दुःखले धमाधम बन्दै छ त ! अब त बल्ल सकिनै पनि लाग्यो। झन् त्यत्तिका सुगाहरूले समेत भनेको सुन्नुभएन ?

काम एकदमै छिटो भइरहेको छ। अझ छिटो गराउनका लागि कराएर कामदारहरूलाई हतार पनि लाइँदै छ।’

वास्तवमा त्यहाँ अगाडि निर्माणको कुनै पनि काम भएको थिएन। खाली सुगाहरू मात्र मीठो स्वरमा रटान लगाइरहेका थिए।

आन्दोलनहरू थुप्रै भए। सम्झँदाखेरि यो माटोमा जताततै शहीदको रगत गन्हाएजस्तो लाग्छ। व्यवस्थाहरू नयाँ–नयाँ आए।

घोषणापत्र, भाषण र योजनाहरूको कहिल्यै कुनै दुःख भएन। तर जे–जति भए पनि देशले उल्लेखनीय प्रगति गर्नै सकेन। यहाँ जति पनि विकास भएको देखियो वा भयो, ती सबै असल नीति र नेताले गरेर होइन, समयक्रममा स्वतः भएको हो।

तर देशमा विकास नहुनुमा सधैँ एउटा न एउटा बहाना गरियो। एउटा न एउटालाई दोष देखाउँदै आइयो। अत्याचारी राणाहरूलाई त सबैले गाली गर्ने नै भए। राणा फालेर पञ्चायत ल्याइयो।पञ्चायतलाई पनि मन पराइएन। त्यो फालेर बहुदल ल्याइयो।

त्यो आउँदा पनि भएन।सत्र हजार मानिस र अर्बौंको भौतिक सम्पत्ति ध्वस्त हुँदा पनि, त्यो सब हाम्रै लागि भन्ने ठानियो। ‘क्रान्तिकारी’को निशानामा राजतन्त्र पर्दा त्यो पनि धराशयी भयो। अन्ततः ‘क्रान्तिकारी’हरूले सत्ता कब्जा गरे, त्यसलाई सबैको जीत ठानियो।

यतिखेर नेपाली जनको मनमा घोर निराशा छ। उनीहरूको निष्कर्ष यही छ– जसलाई पनि आखिर चाहिएको सत्ता त रहेछ !

विचरा सिद्धान्त र व्यवस्थाले के गरोस् ! तिनको व्याख्या गर्ने, तिनलाई चलाउने र तिनको खोल ओढ्ने त सधैँ लोभीपापीहरू नै भएपछि ! दाग आफ्नै आँखामा छ ,सधैँ ऐना पुछेको पुछेकै गरेर के हु्र्रन्छ ?

पछिल्ल्लो समयमा दुई तिहाइको बलियो र स्थिर सरकार आयो। तर अवस्था एकरत्ति सुध्रिएन। घर–घरमा ग्यासको पाइप, रेल र पानीजहाजको सपना छरियो।

स्वस्थ र निरोगी हुने, रोजगार सबैले पाउने ! भन्न बाँकी केही कुरा पनि राखिएन। समुद्र नभएको देशमा पानीजहाज कार्यालय खोलियो।

भारतले केही समय नाकाबन्दी गरिदिँदा दाउरा बेच्ने स्थितिमा पुगेको सरकार मन्त्रिमण्डल विस्तार गर्नमा व्यस्त भएको थियो। यतिखेर त झन् देशमा तीन तहको सरकार छ। तिनलाई सम्हाल्न व्यवस्था गरिएका जनप्रतिनिधिहरूको संख्या धेरै छ।

तिनको सेवा–सुविधाका लागि छुट्याइएको रकम धेरै छ। त्यतिले नपुगी तिनले लामो हात गरेर मिलाई–मिलाई गरेको खर्च असीमित छ। यसरी, देश खोक्रो भैसक्यो। नागरिकका थाप्लामाथिको ऋण बढेको बढेकै छ।

एउटा मेलम्ची खानेपानी आयोजना थालिएको तीस वर्ष भयो। नेतागण जसरी पनि पालिनु छ।त्यसैले, संघीयता आउनासाथ कर बढाइयो। नागरिक झस्के।

विरोध गर्न थाले र तर जति नै विरोध गरे पनि अब त्यसलाई घटाउनुको साटो बढाउनका लागि नयाँ–नयाँ शीर्षकहरू खोजिँदै छ।

व्यापार घाटा बढेको बढेकै छ। आयात बढ्ने र निर्यात घट्ने कुरै छैन। युवावर्ग विदेशिने क्रम बढेको हुँदा, देशमा ‘आर्म पावर’ र ‘माइन्ड पावर’को अभाव महसुस हुँदै छ।

संघीय गणतन्त्रमा कामका अल्छे र गफका भकारी बगुन्द्र नेताहरूको हैकम, फजुल खर्च, नचाहिँदो चहलपहल र फूर्तिफार्तीले देश आक्रान्त छ।

शीर्षस्थ नेताहरू एक–अर्कामा दोषारोपण गर्दै छन्। दिनहुँजसो हामीले तिनका विदेश भ्रमण, उपचार खर्च र भ्रष्टाचारका कुराहरू सास रोकेर सुन्नुपरेको छ।

पछिल्लो समयमा, आयल निगम जग्गा खरीद प्रकरण, निर्मला बलात्कार हत्या, तेत्तीस किलो सुन काण्ड, वाइड बडी खरिद प्रकरण, बालुवाटार जग्गा अपचलनजस्ता काण्ड र भ्रष्टाचार बाहिर आएका केही प्रतिनिधि घटनाहरू मात्र हुन्।

यता इतिहासकै शक्तिशाली सरकार भने वीरबलका तालिमप्राप्त सुगा जसरी जताततै विकास र समृद्धिका कुरा गरिरहेका छन्।

ठूला नेताहरू खोक्रो आदर्श बखानिरहेका छन्। बेलाबखत समृद्धिको झुटो भाषण गर्न पनि बाँकी राखिएको छैन।

धमाधम झुटो अभिलेखको खेती पनि सञ्चारमाध्यमतिर देख्न पाइन्छ। दुई तिहाइको शक्तिशाली सरकारका पालामा तीन तहका सरकारका बीच अधिकारका विषयमा हानथाप छ। प्रधानमन्त्री रोजगार कार्यक्रमजस्ता कुरा र योजना जत्ति पनि छन्।

तर परिणाम उही ‘हावामहल’ नै हो।देशको विकासका लागि, दिगो र आत्मनिर्भरतावादी योजना कुनै पनि छैन।

कुनै अघि सारिए पनि ती सफल हुने परिवेश र वातावरण नै छैन। सर्वसाधारणले भने खाली हेर्नु छ रमिता, सुन्नु छ भ्रष्टाचार, देख्नु छ विडम्बना।

यो देशको माया गर्ने र यहाँ सुशासन चाहने सर्वसाधारणले सरकारका क्रियाकलापप्रति जति नै प्रश्न उठाए पनि रचनात्मक उत्तर पाउने लक्षण देखिँदैन। यो सबैको मनमा छ।

अब मनको कुरो बिस्तारै मुखमा पनि आउला। सचेत र पीडितहरूबीच सहकार्य र एकता पनि होला। नेतृत्ववर्गले गल्ती महसुस गरेर गोहीका आँसु झार्ने समय पनि आउला। तर त्यो बेलासम्म फेरि अर्को सच्चा क्रान्तिका लागि राष्ट्रप्रेमी नेपालीको एकता भैसकेको हुनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्