प्रेसिडेन्सियलका ९५ विद्यार्थी दीक्षित



अमेरिकाको एक युनिभर्सिटीले चर्चित अस्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।

अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो।

प्रेसिडेन्सियल बिजनेस स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्राडा डेभिड मेकेनीले राईलाई संयुक्तरूपमा विद्यावारिधि उपाधि प्रदान गर्नुभएको थियो।

प्रेसिडेन्सियल बिजनेस स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेस कलेज हो।
मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताउनुभयो।

‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइनँ, यसले मलाई औधि खुसी बनाएको छ’, उहाँले भन्नुभयो– ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेस स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु।’

उहाँले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अस्ट्रा ट्रेलमा दौडने नवप्रतिभालाई पनि थप मेहनत गर्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो।

सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयुद्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गर्नुुभयो।

भोजपुरमा जन्मिएकी राई अन्तर्राष्ट्रिय अल्ट्रा रेसमा चर्चित नेपाली नाम हो। उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइसकेकी छन्।

सो अवसरमा उपराष्ट्रपति पुन र प्राडा मेकेनीले वेस्टक्लिफ युनिभर्सिटीबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका प्रेसिडेन्सियल बिजनेस स्कुलका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका गर्नुभएको थियो।

दीक्षान्त समारोहमा बोल्दै स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले आफूलाई चिनेर अगाडि बढ्दा सफलता हात पार्न सकिने बताउनुभयो। ‘सामान्यतया हामीले अरूले के गरिरहेका छन् वा के गर्न खोज्दै छन् भन्ने विषयलाई बढी महत्व दिने गर्छौं।

यदि त्यसो गरियो भने जहिले अरूलाई पछ्याइरहेको हुनेछौं, कहिल्यै लिडर बन्न सक्दैनौं।’ –उहाँले भन्नुभयो। आफ्नो खुबीलाई चिन्न सकेमात्र मीरा राई जस्तै सफल बन्न सकिनेको उहाँको भनाइ थियो।

उहाँले साँचो अर्थमा व्यवस्थापनका विज्ञहरू बनाउन र बदलिँदो परिवेशअनुसार व्यवहारिक सिकाइ प्रक्रियामा खरो उतार्न व्यवस्थापन शिक्षाको जननी मानिने अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको सहकार्यमा विश्वस्तरीय शिक्षा नेपालमै सर्वसुलभरूपमा पे्रसिडेन्सियल बिजनेस स्कुलले प्रदान गरिरहेको बताउनुभयो।

उहाँले स्कुलका प्रोडक्टहरूले नेपाल र अमेरिकाका विभिन्न ख्यातिप्राप्त संस्थामा काम गरिरहेका समेत जानकारी दिनुभयो।

केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गर्नुभयो।

युनिभर्सिटीका प्राडा मेकेनीले बजारको आवश्यकता र मागअनुसार विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे।

स्कुलका शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले प्रेसिडेन्सियल बिजनेस स्कुलमा सैद्धान्तिक तथा व्यावहारिक अध्ययन हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्