नेपाल–भारत तेल पाइपलाइन उद्घाटन

पाइपबाटै डिजेल, ८० करोड ढुवानी लागत वचत



कृष्णउदास खनाल, वीरगन्ज।वर्षौंदेखि चर्चामा रहेको नेपाल–भारत पेट्रोलियम पाइपलाइन विधिवतरूपमा सञ्चालनमा आएको छ।

मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोटबाट संयुक्तरूपमा सो पाइपलाइनको शुभारम्भ गर्नुभयो।

यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो। प्रायः भारतीय परियोजनाहरू निर्धारित समयभन्दा पछि पनि सम्पन्न हुन मुस्किल पर्ने गरेकोमा यो योजना निर्धारित समयभन्दा १५ महिनाअघि नै सम्पन्न भएको हो।

२०६१ मा पाइपलाइन निर्माणबारे प्रारम्भिक सम्झौता भएको थियो।लामो समयदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य शुरू भएको छ।

पाइपलाइन उद्घाटनसँगै निरन्तररूपमा पाइपलाइनबाट डिजेल आउन थालेको छ। ओलीले सिंहदरबारबाट र मोदीले हैदरावाद हाउसबाट बटम दबाएपछि आयल निगमको अमलेखगन्ज डिपोमा डिजेल झरेको हो।

बाहिरी देशबाट आयात हुने वस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा ओगटेको पेट्रोलियम पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ।

गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले २ खर्ब रुपियाँखर्च गरेको थियो। मंगलबार बिहानैदेखि बाराको अमलेखगन्जस्थित आयल निगमको कार्यालयमा चहलपहल बढेको छ। आयल निगमका कर्मचारी पनि खुसी देखिएका छन्।

पाइपलाइनबाट डिजेल आउन शुरू गरेसँगै यसको असर मूल्यमा समेत देखिएको छ। नेपाल आयल निगमले मंगलबारदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपियाँमूल्य घटाएको छ।

नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइपलाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत वचत हुनेछ।

मंगलबार दिउँसोबाट सहजरूपमा डिजेल आइरहेको र विस्तारै पेट्रोल पनि झार्ने योजना रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो।

म छिट्टै नेपाल आउँदै छु ः मोदी

काठमाडौं, (नेस)। भारतीय समकक्षी नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ।

उहाँले नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य र सक्रियताको प्रशंसा गर्दै आफ्ना मित्र ओलीलाई भेट्न चाँडै आउने बताउनुभएको छ।

भारतीय सहयोगमा गोरखा र नुवाकोटमा पुनर्निर्माण भइरहेका घरको उद्घाटनका लागि मोदी नेपाल आउन चाहनुभएको हो।

मंगलबार बहुचर्चित नेपाल–भारत ‘क्रस बोर्डर पाइपलाइन’को भिडियो लिंकबाट उद्घाटन गर्दै उहाँले चाँडै गोरखा र नुवाकोटका परियोजना शुभारम्भ गर्न मौका मिल्ने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण गर्ने निम्तो दिनुभएकोमा आभार व्यक्त गर्दै मोदीले भन्नुभयो– ‘यस प्रोजेक्टमा उहाँ(ओली)का साथ लोकार्पण गर्ने अवसर पनि चाँडै मिल्नेछ।’

पाइपलाइनको शुभारम्भ दुवै मुलुकका लागि मित्रताको विशेष दिन भएको र यस्तो सहकार्यले दुवैतर्फका जनताको परस्पर लाभका लागि नयाँउचाइ प्राप्त गर्ने मोदीको विश्वास छ।

उहाँले आफ्नो ट्वीटमा भन्नुभएको छ– ‘मेरा मित्र, प्रधानमन्त्री ओली र मैले संयुक्त रुपमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्मको दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पदार्थ पाइपलाइनको उद्घाटन गयौं।’

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्धारित समयभन्दा धेरै अघि सम्पन्न भएको र पाइपलाइनले नेपाली जनतालाई सुलभ मूल्यमा अझैं सफा पेट्रोलियम पदार्थ दिने मोदीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्