नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न दिन्नौं: महानिरीक्षक खनाल



न्युज अफ नेपाल, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । महानगरीय अपराध महाशाखा टेकु, महानगरीय प्रहरी परिसर भद्रकाली र नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नवनिर्माण हुने बहुउद्देश्यीय भवनहरुको मंगलबार छुट्टाछुट्टै शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछि नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारबाट जग्गा प्राप्ती हुनु आफैंमा उपलब्धी भएको चर्चा गर्दै सबै भवनहरु पारदर्शी रुपमा काम हुने गरी निर्माण गरिने बताउनुभयो । विगत २५ वर्षदेखि धेरैको हृदयमा बस्न सफल पुलिस क्लवले आगामी दिनमा अपेक्षा अनुसारको विश्वसनीय सेवा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले जसरी भवनहरु सुन्दर हुन्छन्, त्यसैगरी सुन्दर भवनसँगै प्रहरी सेवालाई थप परिस्कृत गर्दै नयाँ उर्जा, निष्ठा एवम् ईमान्दारिताका साथ सुन्दर सेवा प्रवाह गर्न प्रहरी सदैव कटिबद्ध रहेको बताउनुभयो । भवन निर्माणको क्रममा कुनै पनि किसिमको अनियमितता सह्यय नहुने बताउँदै तोकिएको समयमै गुणस्तरीय भवन निर्माण सम्पन्न गर्नेतर्फ अग्रसर हुन निर्माणमा संलग्न सबैमा उहाँले आग्रह गर्नुभयो ।

अपराध महाशाखा तथा परिसरमा कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना समेत उक्त नयाँ भवनमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यालयले आफ्ना कार्य कानून सम्मत, सेवाग्राहीमैत्री र पारदर्शी रुपमा गर्नुपर्ने बताउँनुभयो । अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाई नहोस् । साथै मैले मेरो प्रहरीलाई सूचना दिन र जाने बुझेको कुरा बताउन आएको हो भनी सूचना दिन आउनेलाई छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाईन्छ ।’

नेपाल प्रहरीले अंगिकार गरेको समुदाय(प्रहरी साझेदारी अवधारणा अनुरुप भएका गतिविधि अत्यन्तै फलदायी रहेको चर्चा गर्दै उहाँले यस अन्तर्गत विभिन्न समिति र स्थानीय तहसँगको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनुभयो । महिला हिंसा, बालबालिकामाथि हुने अन्याय, साइबर अपराध सँगसँगै मानव बेचबिखन जस्ता अपराध निस्तेज पार्न नेपाल प्रहरी संवेदनशील भएर अगाडि बढेको र सरोकारवाला निकायहरुसँग सहकार्य एवम् समन्वय गर्दै जानेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई। लोकेशचन्द्र सिंहले निर्माण हुने भौतिक संरचनाका सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै शिलान्यास सम्पन्न निर्माण योजनाहरुलाई समयमै तोकिएको गुणस्तर सहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विगतको भन्दा उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सरकारबाट प्राप्त ९ रोपनी जग्गामा निर्माण हुने महानगरीय अपराध महाशाखाको भौतिक संरचनाले ७५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ ।

नेपाल सरकारबाट प्राप्त १५ रोपनी जग्गामा निर्माण हुने महानगरीय प्रहरी परिसर काठमाडौंको भौतिक संरचनाले १ लाख ६५ हजार वर्गफिट क्षेत्रफल ओगटने छ । २६ रोपनी २ आना १ पैसा ३ दाम क्षेत्रफल रहेको नेपाल पुलिस क्लवको नवनिर्माण हुने भौतिक संरचनाले ६० हजार वर्गफिट क्षेत्रफल ओगटने छ । तीन वटै संरचना २ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

प्रहरी महानिरीक्षक खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन् । प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधीहरुले नराख्दा हुने चेतावनी पनि दिए ।

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधीहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतमा कारवाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस्