भारतबाट मोदीको भिडियो सम्बोधनः मेरा मित्र ओलीजी म चाँडै नेपाल आउँछु



Prime Minister Narendra Modi of India waves to the crowd as he arrives to give a speech during a reception by the Indian community in honor of his visit to the United States at Madison Square Garden, Sunday, Sept. 28, 2014, in New York. (AP Photo/Jason DeCrow)

न्युज अफ नेपाल काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नै निवासबाट मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट एकै पटक स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्।

मोदीले स्वीच थिचेर डिजल ‘सेन्ड’ गरे भने ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गरेका हुन् ।

भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको यो पेट्रोलियम पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो । यो पाइपलाइनको क्षमता २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सक्ने रहेको छ । मंगलबार सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र दिल्लीबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच थिचेर पाइपलाइनको उदघाटन गरे । प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले बोतलमा तेल थापेर आदान–प्रदान गरे ।

पाइपलाइनको उदघाटनपछि प्रधानमन्त्री ओलीले छोटो मन्तव्य व्यक्त गर्दै भारतीय सहयोगको प्रशंसा गरे । भारतले गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोगको प्रतिवद्धताका लागि प्रधानमन्त्रीले भारतको प्रशंसा गरे । प्रधानमन्त्री ओलीले विकास अभियानमा भारतसँग साथसाथै अघि बढ्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै उनको स्वास्थ्य र सक्रियताको प्रशंसा गरे । अनि आफ्ना मित्र प्रधानमन्त्री ओलीलाई भेट्न ईच्छुक रहेको बताउँदै चाँडै भेट्न आउने वचनसमेत दिए ।

नेपालमा जारी द्वीपक्षीय परियोजनाहरु राम्रोसँग अघि बढेको भन्दै मोदीले सन्तोष व्यक्त गरे । मोदीले पछिल्ला केही वर्षहरुमा भारत र नेपालबीच उच्च राजनीतिक तहमा ‘नजदिकी’ (निकटता) बढेको पनि बताए । र अन्तमा नेपाल आउने बाचा गरे ।

प्रतिक्रिया दिनुहोस्