नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन्।

रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ।

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटीएम, ९३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ।

चालू आव २०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्ब ९० अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपियाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा कमाएको छ।

 

प्रतिक्रिया दिनुहोस्