पूर्वाधार सम्मेलनको तयारी अन्तिम चरणमा



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले भदौ २५ र २६ गते काठमाडांैमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ।

अहिलेसम्मको तयारी र सम्मेलनप्रति देखिएको उच्चस्तरीय तथा आम सहयोग, समर्थन तथा उत्सुकता र चासोले यो क्षेत्र उत्साहित भएको छ।

लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदायसमेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ को मूल भाव सहित आयोजना गर्न लागिएको हो।

सम्मेलनको नलेज पार्टनरको रुपमा ख्यातिप्राप्त परामर्शदात्री संस्था केपीएमजीले सम्मेलनको आवश्यक समन्वय गरिरहेको छ।

उक्त सम्मेलनमा भारतका ऊर्जा तथा नवीकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैंकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युम सहित नेपाल सरकारका वरिष्ठ मन्त्रीहरू र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरू सम्मिलित हुने कार्यक्रम तय भएको छ।

सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक युएनडीपीलगायतका संस्था एवं मुलुकभित्रका विभिन्न संस्था गरी ४० साझेदारको रुपमा छन् भने ८० जनाभन्दा बढी विशेषज्ञहरूले प्रमुख वक्ताको रुपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरू रहने छन्।

यसै गरी सातै प्रदेशका मुख्यमन्त्रीले प्रादेशिक पूर्वाधारका विषयमा विषेश छलफल गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनमा प्रदेशहरूले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजनाहरू प्रस्तुत् हुने छन्।

विकास साझेदारका प्रमुखहरू, उपप्रमुखहरूले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशका ५०० भन्दा बढी लगानीकर्ताहरूको सहभागिता हुने छ।

अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत तथा गहन अध्ययन गर्नु पर्ने औल्याएको थियो।

यसैमा केन्द्रित गरी परिसंघले सर्वागिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा बृहत् अध्ययन गरेको प्रतिवेदन पूर्वाधार सम्मेलनमा सार्वजनिक हुनेछ।

यो सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ।

प्रतिक्रिया दिनुहोस्