मालपोत कार्यालयको सेवा अवरुद्ध



बैतडी,(नेस)।मालपोत कार्यालय बैतडीले प्रदान गर्ने सम्पूर्ण सेवा पाँचदिनदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्।

यही भदौ १९ गतेदेखि मालपोल कार्यालयका सम्पूर्ण सेवा अवरुद्ध रहेका हु्न्। कार्यालय सार्ने काम भइरहेकोले सेवा अवरुद्ध भएका मालपोत कार्यालयले जनाएको छ।

कार्यालयले यसअघि गोठलापानीबाट सेवा दिइरहेको भए पनि गढीमा आफ्नै नवनिर्मित निर्माण सम्पन्न भएकोले सोही भवनमा कार्यलय सारिन लागिएको सूचना अधिकारी अनिल चन्दले जानकारी दिनुभयो।

आफ्नै नयाँ भवनबाट सेवा प्रवाह गर्ने र त्यसका लागि कार्यालयको सर–सामानसहित आवश्यक उपकरण जडान गर्नुपर्ने भएकोले सेवा बन्द गरिएको उहाँले बताउनुभयो।

नयाँ भवनमा कार्यालय सार्नको लागि कार्यालयले एक सूचना प्रकाशन गरेर भदौ १९ गतदेखि २४ गतेसम्म आफ्ना सम्पूर्ण सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

मातपोत कार्यालयले दिने सेवा भदौ २५ गतेवाट नियमितरूपमा गढीवाट सुचारु हुने कार्यालय प्रमुख गोविन्दप्रसाद लेखकले जानकारी दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्