भू–माफियाको चङ्गुलमा सियारी अनियमितता गरेको कांग्रेसको आरोप



यमलाल भुसाल, बुटवल।रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक जग्गामा वृक्षारोपणको नाममा भू–माफियाको चङ्गुलमा फसेर अनियमितता गरेको नेपाली कांग्रेसले जिकिर गरेको छ।

गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हियास्थित कित्ता नम्बर ४५ को ४–९–६ को जग्गा विशाल तामाङको नाममा दर्ता गराएको नेपाली कांग्रेस सियारी गाउँपालिकाले आरोप लगाएको छ।

गाउँ कार्यपालिकाले जनविरोधी काम गरेको स्थानीयबाट गुनासो आएपछि नेपाली कांग्रेस सियारी गाउँपालिकाले सोमबार गाउँपालिकाको कार्यालय घेराउ गरेको हो।

गाउँपालिकाको–३ मा रहको रामजानकी मन्दिर र संस्कृत मावि मटीहानी गुठीको नाममा रहेको करिब ६० विगाहा जग्गा विदेशी संस्थालाई गाउँपालिकाले दिन थालेको भन्दै कांग्रेसले नेतृत्व गर्दै सयौंको संख्यामा स्थानीयहरू गाउँपालिका घेराउमा पुगेका थिए।

नेपाली कांग्रेस सियारी गाउँपालिकाका सभापति थानेश्वर घिमिरेले गाउँपालिकाका प्रमुख अयोध्या थारुलाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिका नातावाद, कृपावादमा चलेको आरोप लगाउनुभयो।

उहाँले गाउँपालिकामा कर्मचारी नियुक्त गर्दा अध्यक्षले आफ्नो छोरालाई नियुक्त गरेको भन्दै नातापाता, परिवारवादलाई प्रोत्साहन गरिएको बताउनुभयो।

गाउँपालिकालाई बुझाइएको ज्ञापनपत्रमा नदीजन्य पदार्थ उत्खनन्मा जनप्रतिनिधिकै मिलेमतोमा चोरी निकासी गरिएको, गाउँपालिकामा बाटो विस्तार गर्दा व्यक्तिको जग्गाको मुआब्जा दिनुपर्ने, परम्परागत रुपमा चलिआएका सडकहरूको मापदण्ड नपुगेकाको मर्मत तथा संरक्षण गर्नुपर्ने, गाउँपालिकाकाले बजेट विनियोजन गर्दा राजनीतिक आस्थाका आधारमा नभई न्यायोचित रूपमा गरियोस् भन्दै मागलाई बेवास्ता गरेमा कडा आन्दोलन गर्ने चेतावनी पनि अध्यक्ष घिमिरेले दिनुभएको छ।

सियारी गाउँपालिकाका अध्यक्ष थारुले जनताको हितमा काम गरेको बताउनुभयो। सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले कार्यदल बनाएर सार्वजनिक जग्गा गाउँपालिकामा संरक्षण गरिएको उहाँले बताउनुभयो।

कांग्रेसले आरोप लगाएजस्तो नभएको उहाँले बताउँदै प्रतिस्पर्धाबाटै नै कर्मचारी गाउँपालिकामा भर्ना गरिएको बताउनुभयो।

गाउँपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसले विरोधसभाको आयोजना गरेको थियो। गाउँपालिकाले बजेट वितरण गर्दा पक्षपात गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले औंल्याएका छन्।

गाउँपालिकाको मनपरी जनतालाई मान्य नहुने र जनताको माग सम्बोधन नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य बुद्धिराम हरिजन, महाधिवेशन प्रतिनिधि जसवन्त कँुवर, पूर्वगाविस अध्यक्ष रंगनाथ गुप्ता, विष्णु बायिनाँ, फोरमका नेता मोहनलाल यादव, नेपाली कांगे्रसका क्षेत्रीय सचिव गोपाल पाण्डेलगायतले गाउँपालिकामा भएको अनियमितताको निष्पक्ष छानविन गर्नुपर्ने धारणा राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्