उपनिर्वाचनको चर्चा



यति बेला जताततै उपनिर्वाचनको चर्चा चलेको छ। विभिन्न सामाजिक सञ्जाल र पत्रपत्रिकामा उपनिर्वाचनसम्बन्धी समाचारहरू प्रकाशित भएका छन्।

बाग्लुङमा पनि आगामी तीन महिनापछि उपनिर्वाचन हुँदै छ। अघिल्लो निर्वाचनमा बाम गठबन्धन र प्रजातान्त्रिक गठबन्धनबाट प्रतिस्पर्धा भएको यो प्रदेशमा बाम गठबन्धनले जीत हासिल गरेको थियो।

वामपन्थी पार्टीहरू झुन्ड–झुन्ड अवस्थामा भइरहँदा जनमत उसको बढी देखिएको त्यस बेलाको निर्वाचन परिणामले बताएको थियो।

तर यसपटक वाम गठबन्धन हुन्छ या हुँदैन, त्यसको निधो नभइसकेको अवस्थामा सम्भवतः यस पटकको निर्वाचन अलि पेचिलो हुने संकेत छ।

अघिल्लो निर्वाचनमा देशभर नेकपा एमाले र एमाओवादीको गठबन्धनसँगै बाग्लुङ, प्यूठानलगायतका स्थानमा राष्ट्रिय जनमोर्चासमेत संयुक्त वाम गठबन्धनमा सामेल भएको थियो।

धेरै ठाउँको मत परिणामको आँकलन, एकले अर्काको सहयोग आदानप्रदान तथा वामपार्टीको हैसियतका कारण उनीहरूबीच मतको लेनदेन भएको हो। त्यसकारण पनि वाम गठबन्धनको परिवेश तयार भएको देखिन्थ्यो।

विगतको निर्वाचनमा गठबन्धन गर्दा यो प्रदेश राष्ट्रिय जनमोर्चाको हिस्सामा थियो। चुनावी प्रक्रियामा गरिएको गठबन्धनमा के–कस्तो समझदारी र सम्झौता गरियो भन्ने दुवै पार्टीका नेताहरूले केही बोलेको पाइँदैन।

आफ्नो हिस्सामा परेको प्रदेशका उमेदवारको मृत्युपश्चात् हुन लागेको उपनिर्वाचनका विषयमा राष्ट्रिय जनमोर्चाले समेत आजसम्म औपचाररिक धारणा बनाएको वा त्यसलाई बाहिर ल्याएको देखिन्न।

यस अर्थमा त्यो तालमेलको औचित्य नबारिएको होला। यता उपनिर्वाचन हुने भनिएपछि नेकपामा भने उम्मेदवारहरूका आकांक्षीहरूको अनौपचारिक छलफल र गफगाफ खूब चलेको पाइन्छ।

यसकै सन्दर्भमा नेकपा समर्थक ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले औपचारिक कार्यक्रममै वाम गठबन्धन फेरि पनि हुने संकेत सार्वजनिक गरेका छन्।

उनले आफ्नो विचार राख्दै गर्दा सामाजिक सञ्जालहरूमा नेकपा समर्थक केही कार्यकर्ताले भने यसपटक राष्ट्रिय जनमोर्चाले नेकपालाई समर्थन दिनुपर्ने विचार राखेको देखिन्छ।

यता नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूको मौनताले यसपटकको उपनिर्वाचनसम्मलाई मध्यनजर गरियो भने फेरि हुने अरू निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा राख्नुपर्ने आवश्यकताका विषयमा विचार गर्नुपर्ने जस्तो पनि देखिन्छ।

बागलुङमा अहिलेको नेकपाले मात्र कांग्रेसलाई जित्न नसक्ने अनुमान पक्कै पनि सही आँकलन हुन सक्छ।

भोलिको लागि समेत बाग्लुङमा राष्ट्रिय जनमोर्चालाई गठबन्धनमा ल्याउन आवश्यक रहेको एकमात्र कारणले, हिजोको गठबन्धनबाट पाएको क्षेत्रमा सहयोग हुन सक्ने अनुमान पनि कतिले गर्ने गरेका छन्।

यद्यपि दीर्घकालीन सोच अहिलेको नेकपाले राख्न चाहेन भने अहिलेकै परिवेशमा नेकपाभित्र पनि आधा दर्जन बढी उम्मेदवारका आकांक्षीहरू देखिन्छन्।

कांग्रेसको आशय भनौं या भित्री अपेक्षा पनि राष्ट्रिय जनमोर्चा गठबन्धनबाट अलग होस् भन्ने नै छ। नेकपा र कांग्रेसको टक्कर हुने भएपछि फिल्डमा उत्रने उम्मेदवारका हिसाबले चुनावी रणनीतिमा जाने कांग्रेसले सोचेको छ।

यता प्रतिस्पर्धामा कांग्रेस नै हुने भए पनि उम्मेदवार गतिलो भए जित्न सकिन्छ भन्ने आशय नेकपाको पनि देखिन्छ। वाम गठबन्धन भए गठबन्धन उम्मेदवारले सजिलै जीत हासिल गर्ने कांग्रेसको आँकलन देखिन्छ।

आफ्नो जीतलाई सुनिश्चित बनाउन र भोलि अरू चुनावमा पनि जिल्लाभरको तालमेल आवश्यक रहने कारणले मात्र नेकपालाई राष्ट्रिय जनमोर्चा आवश्यकता महसुस हुन्छ।

राष्ट्रिय जनमोर्चा एक्लैले यो प्रदेशमा जित्ने जनमत छैन। आफ्नो मत सुरक्षाका लागि उम्मेदवार ल्याउने वा भोलि तालमेलबाट जित्नका लागि पनि यसपटकको तालमेल आवश्यक ठान्ने उसको रणनीति हुन सक्छ।

अन्यथा राष्ट्रिय जनमोर्चालाई यसपटकको निर्वाचनले खास हिसाब नराख्ने स्थानीय समर्थकहरूको बुझाइ देखिन्छ।

– अनुप निउरे,
उपल्लाचौर, बाग्लुङ।

प्रतिक्रिया दिनुहोस्