स्वास्थ्यमा सरकारको दायित्व

स्वास्थ्यमा एक मिनेट ढिलाइ भए मानिसको ज्यानैै जान्छ: सांसद ठगुन्ना



भगवती तिमल्सिना/[email protected]

नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय पैरवी बैठक सरोकारवालाहरूका बीच भएको बृहत् छलफलमा नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप ६६ प्रतिशत रहेको तथ्यांकलाई विशेष प्राथमिकता दिई प्रस्तुत गरिएको थियो।

यो तथ्यांक नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा सार्वजनिक गरेका थिए। तथ्यांकमा उल्लेख गरिएअनुसार नेपालमा नसर्ने रोगका कारण बर्सेनी १ लाख २१ हजारको हाराहारीमा मृत्यु हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले कार्यपत्रमा प्रस्तुत गर्नुभएको थियो।

मुटु, सीओपीडी, स्ट्रोक, श्वास–प्रश्वास, क्यान्सरलगायतका रोगबाट धनीभन्दा गरिब बढी प्रताडित भएको भन्दै नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड उहाँले दिनुभयो।

डा. कोइरालाले नसर्ने रोगबाट बढी प्रभावित हुनेमा आयस्रोत कम भएका व्यक्ति अर्थात् गरिब रहेको कुरा औंल्याउनुभयो।

उहाँले सरकारले अघि सारेका नसर्ने रोगमध्ये मुख्य २३ वटालाई स्वास्थ्य बीमा, दातृ निकायको सहयोग कोषलगायतका निकायबाट सम्बोधन गर्नसमेत सुझाव दिनुभयो।

नेपाल सरकारले स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने टोबाकोबाट ७ अर्ब, रक्सीबाट १२ अर्ब, बियरबाट ७ अर्ब गरी २६ अर्ब राजस्व उठाएको छ।

तर, स्वास्थ्य करका नाममा उठाएको राजस्व राज्यले स्वास्थ्य उपचारमा नभई अन्यत्र खर्च गरेको कोइरालाले बताउनुभयो।

‘रकम एउटाको नाममा, खर्च अर्कैतिर गर्ने गलत प्रवित्ति नहटेसम्म गरिब जनताले उपचार पाउँदैनन् र रोगीको संख्या दिन प्रतिदिन बढ्दै जान्छ यो राज्यकै लागि ठूलो क्षति हो’, कोइरालाको दाबी छ– ‘जन्मजात बच्चामा देखापर्ने, मुटुरोग, मृगौलारोग जस्ता समस्याको समयमै उपचार गरी एनसीडी सिस्टममा राख्नुपर्छ।

बच्चाको समस्याका बारेमा कम शुल्कमै उपचार हुन्छ र दीर्घ जीवन पाउँछन् यसतर्फ सरकारको ध्यान पुग्नु जरुरी छ।’

त्यसै गरी एक्सन नेपालका आनन्दबहादुर चन्दका अनुसार यो साता नसर्ने रोगविरुद्धका गतिविधि गर्दै विश्वभरि मनाइँदै छ र नेपालमा पनि सरोकारवाला प्रतिनिधिसभाका सांसद, स्वास्थ्य मन्त्रालय, गृह तथा अर्थ मन्त्रालयका प्रतिनिधि, चिकित्सक, नसर्ने रोगमा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिका साथ सञ्चारकर्मीहरूसमेतको सहभागितामा गरिएको छलफल उपलब्धिको नजिक पुगेको छ। नसर्ने रोगको मूल कारण, सूर्तिजन्य पदार्थ, रक्सी, जंकफुड, कोक, फेन्टा हुन्।

सोही अवसरमा डा. कोइरालाले भन्नुभयो– ‘विकसित मुलुकहरूमा जनचेतनाकै कारण युवा पुस्तामा नसर्ने रोगको भार कम हुँदै गइसकेको छ तर हाम्रो मुलुकमा भने यसको ठीकविपरीत भइरहेको छ।

नसर्ने रोगविरुद्ध तत्काल कदम नचाल्ने हो भने अबको १५ वर्षभित्र यसले भयावह अवस्था निम्त्याउने निश्चित छ।’

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा विष्णुदत्त पौडेलले क्यान्सर रोगको बढ्दो क्रममा रहेको तथ्य प्रस्तुत गर्दै क्यान्सरका कारण बर्षेनी १६ हजार बढी नेपालीले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक गर्नुभयो।

‘यो समस्याको तत्काल समाधानका विषयमा कदम नचाल्ने हो भने यसले भयावह रूप लिन्छ।’ –उहाँको कथन छ।

अर्का वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले साइलेन्ट किलरका रूपमा रहेको मधुमेहबाट युवा पुस्ता नै प्रताडित हुन थालेको भन्दै नियन्त्रणका लागि सरकारीस्तरबाटै कार्यक्रम आउनुपर्ने बताउनुभयो।

उहाँले सुर्तीजन्य पदार्थमा जस्तै सुगरी ड्रिक्समा पनि सरकारले कर लगाउनुपर्नेमा जोड दाँदै उहाँले भन्नुभयो– ‘रोग लागेपछि उपचार गर्ने होइन, रोग नै लाग्न नदिनका लागि सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने हो।’

नसर्ने रोग बढ्नुमा परिवारको मुख्य हात रहेको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालको धारणा छ।

‘स्वास्थ्य सरकारको पहिलो प्राथमिकता हुनुपर्छ र विकासमा एक वर्षपछि परेर पनि केही हुन्न तर स्वास्थ्यमा एक मिनेट ढिलाइ हुँदा मानिसको ज्यान नै जान्छ।’ –सांसद गणेश सिंह ठगुन्नाले भन्नुभयो।

यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले नसर्ने रोग नियन्त्रणका लागि सरकारले प्राथमिकतामा कार्यक्रम नै नराखेको बताउनुभयो।

दातृ निकायले बर्षेनी दिँदै आएको १ करोड रुपियाँसमेत कार्यक्रम नभएर गुम्ने अवस्थामा पुगेको खुलासा गर्दै संघीयताका नाममा सरकारले स्वास्थ्य सेवालाई धराशयी बनाएको समेत उहाँको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्