बालविवाह अझैसम्म कायमै



न्युज अफ नेपाल, विराटनगर । बालविवाहलाई सामाजिक अपराध मानिएको भए पनि हालसम्म यो कूरुती कायमै छ । बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम ३ वर्षसम्म कैद र नगद ३० हजारसम्म जरिवानाका साथै त्यस्ता विवाह बदर गरिने भए पनि लुकिछिपी यस्ता विवाह हुने गरेको पाइन्छ ।

समाजमा बालविवाह बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। सामाजिक सञ्जालले ल्याएको विकृति, अशिक्षा, गरीबी, दाइजो प्रथा, सामाजिक कुरीति र परम्परागत कारणले पनि बालविवाह हुने गरेको पाइएको छ ।

उमेर नपुगी प्रेम विवाह गर्ने जोडीमा यस्ता विवाहले भोलिका दिन आइपर्ने समस्याबारे जानकारी नहुँदा पनि यो क्रम रोक्न सकिएको छैन। भारतीय सीमा नजीक भएका कारण सीमापारि गएर विवाह गर्ने र पछि फर्किने गरेको पाइएको छ । पछिलो केही वर्षयता १७/१८ वर्षका किशोरकिशोरीहरू भागेर प्रेमविवाह गर्ने र पछि केटी पक्षले बलात्कार वा जबर्जस्ती करणी वा शरीर बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा आउने गरेको प्रहरीले बताएको छ । परिवारका सदस्यमा चेतनाको कमीले छोरीलाई बोझ सम्झने र केटा राम्रो परिवारको छ भन्ने लोभमा परेर बालविवाह हुने गरेको पनि पाइएको छ ।

बालविवाहका कारण महिला हिंसामा पर्ने, स्वास्थ्यमा समस्या हुने, मानसिक असर पनि पर्नाका साथै पछि सम्बन्ध विच्छेदका घटना पनि हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/७३ मा ३ बालक र १८ बालिका, २०७३/७४ मा ३ बालक र ३५ बालिका, २०७४/७५ मा ४ बालक र १७ बालिका तथा २०७५/७६ मा ५ बालक र ४० बालिकाको विवाह भएको थियो ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखाका अनुसार सन् २०२५ सम्ममा प्रदेश नं १ लाई बालविवाहमुक्त प्रदेश घोषणा गर्ने योजना रहेको र सबैको साथ र सहयोग रहेमा यसले सफलता पाउने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ पहिलो प्रदेशस्तरीय बालिका सम्मेलनपश्चात् सन् २०२५ सम्ममा बालविवाह मुक्त प्रदेश बनाउने योजनाका साथ प्रदेश सरकारले आफ्ना कार्यक्रमलाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्