बियान्कालाई यूएस ओपन उपाधि



न्यूयोर्क, (एजेन्सी)।१९ वर्षीया बियान्का एन्ड्रीस्कुले यूएस ओपन टेनिस च्याम्पियनसिपअन्तर्गत महिला सिंगल्सको उपाधि जितेकी छन्।

शनिबार राति न्युयोर्कस्थित आर्थर एस कोर्टमा भएको फाइनल खेलमा क्यानेडियन बियान्काले २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन सेरेना विलियम्सलाई ६–३, ७–५ ले हराएकी हुन्।

बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी छिन्।१९६८ पछिको ओपन इरामा कुनै ग्रान्डस्लाम उपाधि जित्ने उनी पहिलो क्यानेडियन खेलाडीसमेत बनेकी छिन्।

फाइनलसम्मको यात्रा गर्दा शानदार प्रदर्शन गरेकी सेरेनाले उपाधि भिडन्तमा भने निराशाजनक प्रदर्शन गरेकी थिइन्। सेरेना सर्भिसबाटै चुकी रहेकी थिइन्। उनले ८ पटक डबल फाल्ट गरेर सर्भिसमै अंक गुमाएकी थिइन्।

तर उनले बियान्का ६–३, ५–१ ले अगाडि रहेको स्थितिमा आफ्नो २० वर्षको अनुभव प्रस्तुत गरेकी थिइन्। उनले बियान्काकै सर्भिसमा म्याच प्वाइन्ट बचाउँदै पुनरागमन गरेर दोस्रो सेट ५–५ ले बराबरी पुुर्याउन सफल भएकी थिइन्।

योसँगै करिब २०औं हजार घरेलु दर्शकको साथ पाएकी अमेरिकी खेलाडीले दोस्रो सेट जित्ने लक्षण बनाएकी थिइन्।
बियान्काले हजारौ सेरेनाका समर्थकलाई बेवास्ता गर्दै ११औं गेममा आफ्नो सर्भिस बचाएर ६–५ को अग्रता लिएकी थिइन्।

१२औं गेममा सेरेनाको सर्भिसमा २ म्याच अंक बियान्कालाई प्राप्त भएकोे थियो। एक म्याच अंक सेरेनाले बचाइन् तर अर्को म्याच अंकमा फोर ह्यान्ड हानेर सदुपयोग गरेपछि बियान्काले ग्रान्डस्लाम जित्ने सपना साकार पारिन्।

सेरेनाले भने मार्गारेट कोर्टको कीर्तिमानी २४औं ग्रान्डस्लाम उपाधि जित्ने लक्ष्य यस वर्ष पनि पुरा गर्न सकिनन्। उनी योसँगै अघिल्ला ४ ग्रान्डस्लाम फाइनलमा नयाँ खेलाडीहरूसँगै पराजित भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्