पूर्वराजा ज्ञानेन्द्र आज काठमाडौं आउँदै



ईश्वरराज ढकाल, काठमाडौं ।

करिब एक महिना लामो थाइल्याण्ड बसाई पछि पुर्वराजा ज्ञानेन्द्र शाह, पुर्वरानी कोमल र बुहारी हिमानी आज सोमबार नेपाल फर्कने हुनुभएको छ ।

पुर्वराजाको सक्रियताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ससंकित भएको अवस्थामा लगातार थाइल्याण्ड भ्रमण गर्नुभएका ज्ञानेन्द्र नेपाल फर्कन लाग्नुभएको हो ।

थाइल्याण्डमा अध्ययनरत नातिनी पुर्णिकालाई भेट गर्ने कारण देखाउदै थाइल्याण्ड जाने गर्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाउदै भारत लगायतका देश भ्रमण गर्ने गर्नुभएको छ । ज्ञानेन्द्र गएको साउन २४ गते निजी सचिव सागर तिमल्सिनाका साथ थाईल्याण्ड जानुभएको थियो । अघिल्लो दिन अर्थात साउन २३ गते पुर्वयुवराज्ञी हिमानी र पुण्किा थाइल्याण्ड पुगेका थिए ।

नितान्त पारिवारिक रहेको भनिएको सो भ्रमणको उद्देश्यबारे प्रष्ट पारिएको छैन । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले हिन्दुराज्य सहितको राजतन्त्र ल्याउने हल्ला चलाइरहेको बेला पुर्वराजा ज्ञानेन्द्र निजी भ्रमण भन्दै थाइल्याड जानु अर्थपुर्ण रुपमा हेरिएको छ । ज्ञानेन्द्र थाइल्याण्ड जानुभएको करिब एक साता पछि कोमल थाइल्याण्ड जानुभएको थियो । अधिकांस भ्रमणमा पुर्वराजा ज्ञानेन्द्र ,कोमल र हिमानी संगसंगै निस्कने गर्नुभएको छ ।

पढाइमा समस्या पर्ने भन्दै नाति हृदयन्द्र र छोरा पारस काठमाडौमै रहनुभएको थियो । कान्छी नातिनी किर्तिका केही दिन अघिनै नेपाल फर्किनुभएको थियो । नेपाल फर्किएपछि पारस एक पटक पनि थाइल्याण्ड जानुभएको छैन ।

‘नेपालबाट अन्य मुलुक जादा हल्ला हुने भएकोले नातिनीको पढाइको अवस्थाबारे जानकारी लिन भन्दै थाइल्याण्ड जाने गर्नुभएको छ’–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । भ्रमणमा निजी सुरक्षाकर्मी शसस्त्रका डिएस्पी र केही कामदार बाहेक अरुलाई सहभागि गराइएको छैन ।

पुर्व युवराज्ञी हिमानी भने तीन वर्ष अघिदेखि दुई छोरीको उच्च शिक्षा अध्ययन गराउन अधिकांस समय थाइल्याडमै बस्ने गर्नुभएको छ । ज्ञानेन्द्र वर्षमा दुई पटक भन्दा बढी थाइल्याड भ्रमणमा निस्कने गर्नुभएको छ । ज्ञानेन्द्र गत वर्षपनि दशै अघि थाइल्याण्ड जानुभएको थियो ।

गतवर्ष ज्ञानेन्द्रले पुर्व, तराई, पश्चिम, मध्यपश्चिम, सुदुरपश्चिम, र मध्यमाञ्चलका विभिन्न जिल्ला भ्रमण गरी स्थानीय राजावादीसंग भेटघाट गर्नुभएको थियो । थाइल्याण्डबाट नेपाल फर्केलगत्तै थप भ्रमणको योजना तय गरिने स्रोतको भनाई छ । दशै लगत्तै उहाको पुन विदेश भ्रमण हुनेछ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

आज दिउसो करिब १२ बजे थाइ एयर बेजबाट नेपाल फर्कन लाग्नुभएका ज्ञानेन्द्रलाई युवा विश्वहिन्दु महासंघर पुर्व राजावादीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखेका छन् ।

महासंघका अध्यक्ष राजन महर्जनले राष्ट्रिय झण्डा र मखन महादेवको चन्दन सहित ज्ञानेन्द्र , कोमल र हिमानीलाई स्वागत गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्