घूससहित असई पक्राउ



सिन्धुली, (नेस)। बीपी राजमार्गमा सञ्चालन हुने सवारी साधानबाट घूस रकम लिँदै आएका एक ट्राफिक प्रहरी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको नेपालथोक ट्राफिक प्रहरी चौकीका असई श्याम माझीलाई पक्राउ गरेको हो।

असई माझीलाई बीपी राजमार्ग भएर गुड्ने गाडीसँग घूस रकम लिँदै गरेको अवस्थामा शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

अख्तियारको टोलीले माझीलाई घूस रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पुस्टी गरेका छन्।

ट्राफिक चेकजाँचका बेलामा राजधानी काठमाडांैबाट पूर्वी तराईतर्फ गइरहेका सवारी साधानबाट घूस लिँदै गर्दा उनलाई टोलीले पक्राउ गरेको हो।

नेपालथोक चेकपोस्टमा लामो समयदेखि कार्यरत ट्राफिकका असई माझीले राजधानी काठमाडौंबाट पूर्वी तराईका जिल्ला जाने पाँच वटा गाडीबाट २ हजार रुपियाँको दरले रकम उठाएको पाईएपछि उक्त रकमसहित माझीलाई अख्तियारले पक्राउ गरेको हो।

१० हजार घूस रकम लिँदै गर्दा अख्तियारको केन्द्रीय कार्यालयबाट आएको टोलीले पक्राउ गरेको उपरीक्षक सिंहले जानकारी दिए।बीपी राजमार्गमा अहिले साँझ ९ बजेसम्म यात्रु बोक्ने सार्वजनिक सवारी साधान र निजी सवारी साधानलाई गुड्न दिने गरिएको छ भने मालबाहक सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन अनुमति दिने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्