ज्येष्ठ नागरिकका लागि रुद्राञ्जु आयो नयँ नेतृत्व



काठमाडौं, (नेस)।कीर्तिपुरको ट्याङ्लामा ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि सञ्चालित रुद्राञ्जु प्रतिष्ठानले शनिबारदेखि नयँ नेतृत्व पाएको छ।

श्रीकृष्ण दाहालको अध्यक्षतामा गठित कार्यसमितिमा कमलादेवी ज्ञवाली, पुण्यप्रसाद खनाल, लीलाधर पाण्डे र गोपालप्रसाद पाण्डेय क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष निर्वाचित हुनुभएको छ।

सदस्यहरूमा डा. जनार्दन ढुंगाना, बद्रीप्रसाद गौतम, सुमन पोखरेल र लक्ष्मीकुमार कोइराला छानिनुभएको छ। स्थानीय शताब्दी पुरुष मेघबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न तेस्रो साधारणसभाले नयँ नेतृत्वको चयन गरेको हो।

अर्थशास्त्रका प्राध्यापक डा. रुद्रप्रसाद गौतमले आफ्नी श्रीमती अञ्जु शर्माको प्रथम पुण्यतिथिका अवसरमा तीन वर्षअघि करिब ६ करोड रुपियँ बराबरको तीन तले घरसहितको परिसर दान दिएर रुद्राञ्जु प्रतिष्ठान स्थापना गर्नुभएको हो।

प्रतिष्ठानले दैनिक आध्यात्मिक कार्यक्रम, कथा वाचन, भजनकीर्तन, योगा आदि सञ्चालन गरी ज्येष्ठ नागरिकलाई मानसिक तथा शारीरिकरूपमा स्वस्थ बनाउनुका साथै सामाजिक पहिचान दिने कार्य गर्दै आएको छ।

सचिव खनालका अनुसार प्रतिष्ठान परिसरमा ज्येष्ठ नागरिकको चाहनाअनुसार करिब १६ लाखको लागतमा पञ्चमुखी शिवलिङ्गसहितको पाञ्चायन मन्दिर निर्माण गरिएको छ भने २ हजार ५ सय वर्गफुटको बहुउपयोगी सत्संग भवन पनि निर्माणाधीन अवस्थामा छ।

साधारणसभामा संस्थाका आजीवन सदस्य तथा कीर्तिपुर नगरपालिका–१ का अध्यक्ष हर्ष महर्जनले निर्माणाधीन भवनका लागि २ सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि खनालले जानकारी दिनुभयो।

यसैगरी वडा नम्बर १० का नगर समिति सदस्य संगीता उप्रेतीले पनि भवन निर्माणमा सघाउने वचन दिनुभएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्