साक्षरता दिवस मनाइयो



काठमाडौं, (नेस)। गोकर्णेश्वर नगरपालिकाले आइतबार ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ। अत्तरखेलस्थित विद्या संस्कार माध्यमिक विद्यालयमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उत्कृष्ट विद्यार्थी, शिक्षक एवं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसहित शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई पुरस्कार एवं सम्मान प्रदान गरियो। प्रमुख अतिथि, सांसद कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायतले विभिन्न विधामा उत्कृष्ट भएकालाई सम्मान गर्नुभएको हो।

उहँहरूले स्थानीय पाठ्यक्रम तयार पार्न बिशेष भूमिका खेल्ने अरुणोदय माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, वरिष्ठ समाजसेवी दीपककुमार भण्डारीलगायतलाई सम्मान गर्नुभयो।

गोकर्णेश्वर नगरपालिका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने मुलुककै पहिलो नगरपालिका हो। शैक्षिक क्षेत्रमा योगदान दिने स्थानीय साहित्यिक संघ संस्थामा अभिनव साहित्य समाज, रमेश विकल साहित्य प्रतिष्ठान, सुरभी साहित्य प्रतिष्ठानलगायतलाई पनि सम्मान गरियो।

सोही अवसरमा २५ वर्ष सम्म सेवा गर्ने शिक्षक शिक्षिकासहित एसईई २०७५ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरियो।

 

प्रतिक्रिया दिनुहोस्