पूर्णसाक्षर मुलुक बनाउन सरकार तयार



नेपाल समाचारपत्र, काठमाडौं।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चालू आवमा नेपाललाई पूर्णसाक्षर मुलुक बनाउन सरकार तत्पर रहेको बताउनुभएको छ। उहँले चालू आवमा देशैभर साक्षरता अभियान सञ्चालन गरिने उल्लेख गर्नुभएको छ।

४०औं शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवस मूल समारोह समितिले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्राथमिक शिक्षामा लगानी बढाउने उल्लेख गर्नुभयो। उहँले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा शिक्षा प्रदान गर्न सरकारले योजना तयार गरिरहेको उल्लेख गर्नुभयो।

‘नेपाललाई २५ वर्षसम्म विकसित राष्ट्रकोरूपमा अघि बढाउन १५औं आवधिक योजना तयारी गरेका छौं’ –उहँको भनाइ थियो। कार्यक्रममा बोल्दै शिक्षा दिवस मूल समारोह समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक विद्यालयको सबलीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।

उहँले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको स्पष्ट पार्नुभएको छ। शिक्षा क्षेत्रका प्रमुख सूचकहरूलाई नियाल्दा विकास र आयस्तरमा नेपाल सरहकै अन्य देशका उपलब्धिसँग नेपालका उपलब्धिहरू तुलनायोग्य रहेको उललेख गर्नुभएको छ।

उहँले देशको शिक्षाको अवस्थाबारे जानकारी गराउँदै हाल प्रारम्भिक बालविकास तथा शिक्षामा कुल भर्नादर ८४ दशमलव ७ पुगेको, प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६ दशमलव ९ पुगेको बताउनुभयो। उहँले प्राथमिक तह (कक्षा १ देखि ५), आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर क्रमश: ९६ दशमलव ९ प्रतिशत, ९२ दशमलव ७ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत पुगेको बताउनुभएको छ।

उहँले अभिभावकको लगानी परिचालन गरी निजी क्षेत्रले नेपालको विद्यालय शिक्षामा करिब २३ प्रतिशत विद्यार्थीलाई सेवा प्रवाह गरी महत्वपूर्ण योगदान पुर्याएको दाबी गर्नुभयो।

उहँले यो आवमा ७० जिल्ला पूर्णसाक्षर घोषणाको तयारी भएको र अब सरकारले साक्षर नेपाल शिक्षित नेपाली भन्ने नारालाई अघि बढाउने उल्लेख गर्नुभयो।

कार्यक्रमममा देशैभरबाट उत्कृष्ट सामुदायिक र सरकारी विद्यालय, प्राविधिक शिक्षालय र क्याम्पसलाई नगद, सिल्ड र झण्डा प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै शिक्षा सचिव महेशप्रसाद दाहालले यो वर्ष शिक्षा तथा साक्षरता दिवसको अवसरमा ७७ जिल्लाका ८३ शिक्षक, विभिन्न क्याम्पसका ११ जना प्राध्यापक र सीटीईभीटीका ७ प्रशिक्षकसहित १ सय १ जनालाई पदकसहित पुरस्कृत गर्ने घोषणा गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्