छाउपडी प्रथा जटिल समस्या



प्राचीनकालदेखि नै चलिआएको छाउपडी प्रथा सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेगहरूमा प्रायः हिन्दूधर्मका धेरै समुदायमा अझै पनि जीवित छ। रजश्वला तथा सुत्केरी भएका बेला छाइछुइ गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहँदै आएको छ।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा र मध्यपश्चिमका कर्णाली अञ्चललगायत मुलुकका दुई दर्जनभन्दा बढी ग्रामीण जिल्लाहरूमा यो प्रथा कायम छ।

महिलाहरूले रजश्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनुहुँदैन भन्ने अन्धविश्वास छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजश्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्छ।

यस्तो गोठलाई ’छाउपडी कुडी’ भनिन्छ। छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर–परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो।

सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नुपर्ने हुन्छ। छाउपडी बस्ने महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास रहेको छ।

सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोषिलो आहार खुवाई आराम गराउनुपर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारीसमेत रजश्वला हुँदा घरका गाईभैँसीको दूध खाँदैनन्।

यस्तो बेलामा घरमा पालेको गाईभैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ। परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने बताइन्छ। यदि छोइहालेमा सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउने जस्ता चलन छन्।

प्राचीनकालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुइछाइ गरेमा घरका कुलदेवता रिसाउने र परिवारमा हानि नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ। छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू पनि देखा पर्ने गरेका छन्।

छाउपडी बसेका बेला बलात्कार हुने, सर्पले टोकेर मर्ने लगायतका घटनाहरू विभिन्न सञ्चारमाध्यमबाट सुन्नमा आउँछन्। कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तश्राव भएर पनि मर्ने गरेका छन्।

गर्मीमा लामखुट्टे, सर्प, बिच्छीजस्ता विषालु कीराहरूको डर हुन्छ भने जाडो याममा न्यानो लुगाको अभावमा विभिन्न स्वास्थ्य समस्याहरू आइपर्छन्।

स्कूल पढ्दै गरेका साना नानीहरूमा रजश्वला हुँदा गरिने भेद्भावपूर्ण व्यवहारले उनीहरूको मस्तिष्कमा नराम्रो असर पुग्ने गर्दछ। कतिपय बालिकाहरू त त्यस्तो अवस्थामा विद्यालय जानबाट समेत वञ्चित हुने गरेका छन्। रजश्वला हुँदा महिलाले आफ्नो स्वास्थ्यप्रति अझ बढी जागरुक हुनु जरुरी छ।

सरसफाइमा ध्यान पुर्याउनुका साथै दैनिक आहारमा समेत पोषिलो खानेकुराको मात्रा बढाउनुपर्छ। छाउपडी प्रथाजस्ता कुरीतिका विरुद्घ जनचेतना फैलाउने र छाउपडी गोठ भत्काउने अभियानसमेत नथालिएका होइनन् तर ती त्यति प्रभावकारी हुन सकेका छैनन्।

छाउपडी बार्नुपर्ने कारण त्यहाँको धर्म र संस्कृति हो। संस्कृतिको आडमा महिलाहरूमाथि गरिने यस्ता अमानवीय व्यवहारहरू मानवअधिकारका विरुद्धमा छन्। कस्तो विडम्बना, बच्चा गर्भमा हुन्जेल छूत हुने, बच्चा जन्मेपछि महिला अछूत हुने।

सुत्केरी अवस्थामा लामो समयसम्म रक्तश्राव भइरहने हुनाले महिलाले २०–२२ दिनसम्म जाडो वा गर्मी होस् छाउगोठमा बस्नुपर्ने, घर–परिवारबाट अलग भएर बस्नुपर्ने।

यस्तो नाजुक अवस्थामा पनि उनले बच्चा र आफ्नो स्याहार आफैंले गर्नुपर्दछ। यति मात्र नभई सुत्केरी अवस्थामा उनलाई दही, दूधजस्ता तागत लाग्ने खानेकुराहरूसमेत छुन र खान दिइँदैन।

पर्याप्त लत्ताकपडा र ओछ्याउने सरसामानसमेत दिइँदैन। धारा, खोला तथा दहहरूको पानी छुन दिइँदैन। उनले कसैलाई छुनसमेत हुँदैन। महिनावारी पनि यसै गरी बारिन्छ तर यो भने पाँच दिन मात्र बारिन्छ।

यसरी महिनावारी तथा सुत्केरी हुँदा शारीरिकरूपले कमजोर भएका अवस्थामा उनीहरूले उचित हेरविचार र पौष्टिक खानपान पाउनुको साटो उल्टो तिरस्कार, शारीरिक पीडा र घृणा खेप्नुपरेको छ।

लामो समयसम्म घरबाट टाढा एक्लै बस्नुपर्दा यस प्रथाले उक्त क्षेत्रका महिलाहरूका स्वास्थ्य, विचार, मनोबल, अस्तित्व आदिमा समेत नकारात्मक प्रभाव पारेको छ। यसै प्रथाका कारण कैयौँ महिलाहरू जंगली जनावरका सिकार हुनुपरेको छ। अचेतना र रोगको सिकार हुनुपरेको छ। व्यभिचारीहरूको फन्दामा परी बलात्कृत हुनुपरेको छ।

शिशु र मात्रृ मृत्युदर बढाएको छ। समग्रमा भन्नुपर्दा छाउपडी प्रथाका कारण महिलाहरूमाथि ठूलो अमानवीय तथा भेद्भावयुक्त व्यवहार र उनीहरूको मानवअधिकारको हनन भैरहेको छ।

यस अर्थमा छाउपडी प्रथा आजको आधुनिक जमानाको कलंक हो। आजको युगमा यस प्रथामा सुधार ल्याउनु तथा बन्देज लगाउनु अति आवश्यक भैसकेको छ।

आजभोलि उठ्ने गरेका महिला अधिकार, महिला आरक्षण, महिला विकास, महिला शसक्तीकरण आदि मुद्दाहरू व्यवहारमा लागू गर्न सर्वप्रथम यस्ता प्रथामा सुधार र बन्देज लगाई पीडित महिलाको जीवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनुपर्दछ। यस प्रथाविरुद्ध आवाज उठाउन अब कत्ति पनि ढिलो गर्नुहुँदैन।

यस्ता कुप्रथाहरूमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा राम्रो उपाय हो। यस क्रममा समुदायलाई नै दोषी मान्नु र जबरजस्ती उनीहरूमा बाहिरी संस्कृतिको प्रभाव पार्न खोजेर यो गर त्यो नगर भन्नु उचित समाधान होइन।

यसको बदला उक्त क्षेत्रका जनतामा शैक्षिक स्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरीतिहरूलाई बिस्तारै कम गर्न सकिन्छ।

यति मात्रै नभई यस्ता कुरीतिजन्य प्रथाहरूलाई जरैदेखि निमूर्ल पार्दै समाज परिवर्तनको बाटोतर्फ अगाडि बढ्न अत्यन्तै जरुरी छ।

– सिर्जना जोशी,
महेन्द्रनगर।

प्रतिक्रिया दिनुहोस्