भुक्तानी लिने पहिले, पुल बनाउने कहिले ?



नेपाल समाचारपत्र, काठमाडौं।आकाशेपुल निर्माण गर्ने ठेक्का पाएको निर्माण व्यवसायीले दुई वर्ष बितिसक्दासम्म सो पुल बनाउन शुरू गरेको छैन।

पटक–पटक ताकेता गर्दा पनि ठेक्का लिएको पूर्णचण्डी–महर्जन–ड्रामा जेभीले काम अघि बढाउन आनाकानी गरिरहेको काठमाडौं चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले चारपटक पत्र काटिसकेको बताउनुभयो।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न स्थानमा आकाशेपुल आवश्यक देखिएकाले सडक विभागअन्तर्गतको उक्त योजनाले यात्रुको चाप भएको सडकको मुख्य चोकमा दुई प्याकेजमा यस्ता पुल बनाउन ठेक्का लगाएको थियो।

सम्झौताअनुसार गत पुसमा उक्त काम गरिसक्नुपर्ने भए पनि कुनै काम हुन सकेको छैन। जब कि १५ करोडमा ठेक्का पाएको उक्त जेभीले त्यसका लागि पाँच प्रतिशत रकम अग्रिम भुक्तानी लिइसकेको छ।

तीनकुने–सूर्यविनायक सडक कालोपत्रे गर्न १ करोड

आठ वर्षअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तीनकुने–सूर्यविनाय सडकमा पुनः कालोपत्रे गरिने भएको छ। ६ लेनको सडकमा ठाउँ–ठाउँमा चिरा पर्ने क्रम बढेपछि सडक विभागले पुनः कालोपत्रे गर्ने भएको हो।

जापान सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक खण्डको ८० प्रतिशत भागमा चिरा परेको छ। कोटेश्वर क्षेत्र, हनुमन्ते पुल, गठ्ठाघर र ठिमी सडक खण्डमा चिरा–चिरा परेको छ।

जापान सरकारको २ अर्ब रुपियाँमा ९ दशमलब १ किलोमिटर सडक निर्माण भएको थियो।यस सडकमा सडकको मोटाइ ११ सेन्टिमिटर रहेको छ।

सडकमा बढ्दो ट्राफिक चाप बढेसँगै यस आर्थिक वर्षभित्र नै पुनः कालोपत्रे गराउने प्रक्रिया अगाडि बढाएको सूर्यविनाय–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्य भाटले बताउनुभयो।

आयोजनाले पहिलो चरणमा मनहरा पुलदेखि सूर्यविनायकसम्म चिराचिरा परेको सडकमा क््याक सिलिङ (चिरा परेको ठाउँमा अलकत्रा र मसिनो बालुवाले टाल्ने) गर्नेछ।

यसका लागि १ करोड रुपियाँमा ठेक्कासमेत आह्वान भइसकेको प्रमुख भाटले बताउनुभयो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको यस सडकमा दुई लेयरको कालोपत्रे गरिएको छ।

अब कालोपत्रे गर्दा तीन लेयरको हुनेछ। ‘सडकको आयु भनेको ७/८ वर्षको हुन्छ, समयमा नै सडकको मर्मत नगर्ने हो भने सडकमा अत्यधिकरूपमा खाल्डाखुल्डी पर्ने सम्भावना हुन्छ, त्यही भएर पुनः कालोपत्रे गरिन लागिएको हो’ –उहाँले बताउनुभयो।

यही भदौ महिनाभित्र नै कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ। ठेक्का सम्झौता भएको तीन महिनाभित्र पुनः कालोपत्रे गर्ने काम सम्पन्न हुने बताउँदै प्रमुख भाटले समयमै सडकको मर्मत गर्दा राज्यलाई ठूलो आर्थिक भार नपर्ने बताउनुभयो।

तीनकुने–सूर्यविनायक सडक खण्डमा तीनकुनेबाहेक अन्य क्षेत्रमा सडक सतहमा पानी जम्ने समस्या भने छैन। उक्त सडकबाट हाल दैनिक हजारौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

राजधानी प्रवेश गर्ने मुख्य नाकामध्ये एक रहेको तीनकुने–सूर्यविनायक सडकमा अन्य सडकजस्तो खाल्डाखुल्डी भने परेको छैन। तीनकुनेदेखि जडिबुटीसम्मको सडकको मर्मत भने सडक डिभिजन कार्यालय काठमाडौंले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्