एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित



श्रीलंका । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भएको छ । आज भएको खेल संगै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । नेपालले अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

कप्तान अक्बर अलीले विस्फोटक ब्याटिङ गरेपछि बंगलादेशले चुनौतिपूर्ण लक्ष्य पनि पूरा गर्न सफल भयो । अलीले नट आउट रहँदै ९८ रन जोडे भने तोहिद हृदयले ६० रनको योगदान गरे । यस्तै शमिम होसैनले नट आउट ४२ रन बनाउँदा महमुदुल हसन जोयले ४० रन जोडे । नेपालका कमल सिंह ऐरीले २ विकेट लिए भने रशिद खान र हरि चौहानले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले १ सय ९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २–२ विकेट लिए । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्