सोमबारदेखि काठमाडौंमा विद्युतीय बस गुड्दै, सञ्चालन खर्च निकै सस्तो हुने दावी



काठमाडौं । काठमाडौं उपत्यकामा आगामी सोमबारबाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो ।

सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा विद्युतीय बस भित्र्याउँदै छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । ट्रली बसपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको बताइएको छ ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनीले जनाएको छ । कम्पनीले प्रति बस एक करोड ६२ लाख मूल्य खर्चेको जनाएको छ ।

सुन्दर यातायातले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको थियो । त्यही स्वीकृत डिजाइन अनुरुप राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भएको हो ।

सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०।५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु हुनेछन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने बताइएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आइसकेको छ ।
यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ ।

विद्युतीय बस वातावरणमैत्री हुन्छन् । यिनीहरुले कुनै प्रकारको इन्धन खपत गर्दैनन् भने डिजेल गाडीले जस्तो चर्को ध्वनी निकाल्दैनन् । आफ्ना विद्युतीय बसहरु उकालो सडकमा पनि सजिलै चल्न सक्ने बीएके कम्पनीको दावी छ । बीएकेका विद्युतीय बहरुको सञ्चालन खर्च पनि निकै सस्तो हुनेछ बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्