परीक्षा र खाल्टाखुल्टी



कहिलेकाहीं कतिपय विजातीय कुराहरू पनि पत्याउनै नसक्ने गरी आफै सजातीय बनिदिँदारहेछन्। तपाईंहरू नै भन्नुहोस् न परीक्षा र खाल्टाखुल्टीको के तालमेल मिल्छ त? तर मिल्यो यहाँ। कुरो एकदमै ताजा हो। एकजना विद्यार्थी सार्वजनिक गाडी चढे।

उनलाई जानुरहेछ परीक्षा दिन काठमाडौंको बौद्धस्थित एक परीक्षा केन्द्रमा। भनिन्छ नि आलाकाँचा विद्यार्थीको हातमा पुस्तक मनमा दशथोक ! उनको पनि पारा त्यही। एकछिनपछि परीक्षा दिनुपर्ने मान्छे झ्याप्पै निदाएछन्।

हुन त रातैभर पढेकाले निद्रा र थकाइ लागेर निदाएका होलान् विचरा। चाबहिलचोक कटेपछि एकजना बा उमेरका मान्छे उनकै नजिक पुगेको दृश्य धरहराको आँखामा ठोकियो।

‘ए, बाबू ! उठ बा, किन निदाको? जाँच दिन आ’को जस्तो देखिन्छ। हेर त पढ्ने मान्छेको पारा⁄ कहाँ पुग्ने हो, जाँच दिने कहाँ हो छुट्ला नि फेरि जाँच नै’ –बाले कोट्याएरै भन्नुभयो।

तिनी उठेनन्। बाले फेरि कोट्याउनुभयो। बल्ल उठेजस्तो गरे उनले। ब्युँझेर रिसाउँदै बालाई गाली गर्न थाले– ‘तपाईंलाई किन बाठो हुन परेको? यस्तो मीठो निद्रा बिगारिदिनुभो।

मैले परीक्षा दिने परीक्षा केन्द्रकै अगाडि कति ठूलो खाल्डो छ। यो बस त्यही खाल्डोमा मज्जाले घच्याक्क गर्दथ्यो अनि म ब्युँझेर परीक्षा दिहाल्थें नि !

प्रतिक्रिया दिनुहोस्