जनस्तरमा नेपाल प्रहरी श्रीमती संघ 



प्रमिला खनाल
अध्यक्ष
नेपाल प्रहरी श्रीमती संघ
नेपाल प्रहरीमा महानिरीक्षक परिवर्तन भएसँगै नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष पनि महानिरीक्षको श्रीमती स्वतः अध्यक्ष हुने परम्परा रहेको छ।२०४१ सालमा स्थापना भएको नेपाल प्रहरी श्रीमती संघले आफ्नो लक्ष्य र उद्देश्यअनुरूप काम पनि गर्दै आएको छ। संघले दैवी प्रकोपमा मानवीय सेवा, सामाजमा रहेको विकृतिका विरुद्ध जनचेता फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

संघले स्थापना कालदेखि नै प्रहरी परिवारका महिलाका लागि सीप विकास, आय–आर्जन, क्षमता अभिवृद्धिलगायतको कामलाई निरन्तरता दिएको छ।अमर प्रहरी, घाइतेलगायतका परिवारलाई छात्रवृत्ति, आर्थिक सहयोग प्रदान गर्नुका साथै लागूऔषध दुव्र्यसनीमा परेका बालबालिकालाई कुलतबाट छुटाएर पुनः घर फर्काउने अभियान नै सञ्चालन गरेको छ। तर, संघीय संसद्मा नेपाली प्रहरी श्रीमती संघ खारेज गर्नुपर्ने माग उठेको छ।

परम्परागतरूपमा स्थापना भएको संघलाई खारेज गर्नुपर्ने माग उठेपछि संसद्देखि प्रहरी महानिरीक्षक समक्षसमेत यो विषयले चर्चा पाएको छ। प्रहरी श्रीमती संघ मात्र होइन, सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल निजामती श्रीमती संघ अहिले पनि सक्रिय रहँदै आएका छन्।

यसै विषयमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष प्रमिला खनालसँग, संघले गर्दै आएको काम, संघ खारेज गर्नुपर्ने माग र आगामी योजनालगायतको विषयमा केन्द्रित भएर नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानी ः

नेपाल प्रहरी श्रीमती संघ कुन उद्देश्य लिएर स्थापना भएको हो ?

कुनै पनि संस्थाको आफ्नो लक्ष्य र उद्देश्य हुन्छ। नेपाल प्रहरी श्रीमती संघको पनि निश्चित लक्ष्य र उद्देश्य लिएर नै स्थापना भएको हो।२०४१ भदौ ४ गते स्थापना भएको संघले प्राकृतिक विपद्मा सहयोग गर्नेदेखि लिएर जनचेतनाको काम गर्दै आएको छ।

अमर प्रहरी, अशक्त प्रहरी परिवारको श्रीमती र बालबालिकाका लागि जीवनयापन सहज बनाउदेखि लिएर शिक्षा प्रदान गर्ने कार्यमा पनि भूमिका खेल्दै आएको छ।

आश्रित परिवारलाई सीपमूलक तालिम प्रदान गर्ने, आश्रित परिवारका बालबालिकाका लागि शिक्षा आर्जन गर्नका लागि छात्रवृत्तिको कार्यक्रम पनि सञ्चालन गरेका छौं।

अमर प्रहरी र पूर्वप्रहरीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने काम गरेका छौं। बाढी–पहिरो, भूकम्प, आगलागी जस्ता दैवी प्रकोपपीडितहरूलाई आर्थिक सहयोग तथा राहत सामग्री प्रदान गर्ने कामलाई निरन्तरता दिएका छौं।

लागूपदार्थको दुव्र्यसनीमा फसेका युवालाई कुलतबाट हटाई समाजमा पुनःस्थापना गराउन सुधार गृह सञ्चालन गरेका छौं। प्रहरी कर्मचारीका बालबालिकालाई हेरचाह तथा शैक्षिक विकासका लागि दिवा शिशु स्याहार केन्द्र सञ्चालन गरेका छौं।

नेपाल प्रहरीको संख्या झन्डै ७४ हजार रहेको छ। श्रीमती संघमा चाहिँ कति सदस्य हुनुहुन्छ ?

श्रीमती संघमा सदस्यता लिनका लागि कुनै अप्ठेरो नियम केही पनि छैन। हरेक वर्ष साधारणसभा हुन्छ। हाल ८५ जना साधारण सदस्य छौं।

यो त निकै कम देखियो नि ? कतै संघप्रति आकर्षण नभएर हो कि ?

संख्याको हिसाबमा एकदमै कम हो। पछिल्लो समयमा अझ बढेको छ। १७ जनाको कार्यसमिति छ। पहिला क्षेत्रगतरूपमा श्रीमती संघ थियो। अहिले सातवटै प्रदेशमा श्रीमती संघ विस्तार भएको छ। पाँच नम्बर प्रदेश र कर्णाली प्रदेशमा गठन भइसकेको छ।बाँकी प्रदेशमा गठन गर्ने गृहकार्य गरिरहेका छौं। यो हाम्रो संस्था हो। यसमा म पनि सहभागी हुनुपर्छ भन्ने भावना जागृत हुनुपर्ने हो। म आबद्ध भएको २ वर्ष भयो। विस्तार गर्ने योजना अगाडि सारेका छौं। सबैलाई ढोका खुला छ। संस्थाभित्र कुनै विभेद छैन।

संस्थाको सञ्चालन गर्न बजेटको व्यवस्था कसरी गरिरहनुभएको छ ?

मैले नेतृत्व लिनुभन्दा अघि विभिन्न मेला र च्यारिटी सो गर्ने गरिएको रहेछ। हाम्रो घरभाडाबाट पनि केही रकम प्राप्त हुने गर्छ। ३५ वर्षदेखि थोरै–थोरै वचत गर्दै पनि आएका छौं। अहिले खर्च कम आम्दानी बढी नै भइरहेको छ।

तीलगंगामा रहेको भवन हामीले भाडामा दिएका छौं। पेट्रोल पम्पबाट पनि केही आम्दानी हुन्छ। दिवा शिशु स्याहार केन्द्रबाट पनि आम्दानी हुन्छ। अहिलेसम्म बाहिरको स्रोत खोज्नुपरेको छैन।

– नेपाल प्रहरी श्रीमती संघमा रानीसाहेब प्रवृत्ति छैन

– प्रहरीसँग आर्थिक सहयोग एक रुपियाँ पनि लिएका छैनौं

– नियम कानुनअनुसार नै दर्ता भएर सञ्चालन भएको हो

– राष्ट्र र जनताको हितविपरीत काम गरेका छैनौं

– दैवी प्रकोपमा सकेको सहयोग गरेका छौं

– प्रहरीले राम्रो काम गर्दागर्दै पनि आलोचना हुँदा दुःख लाग्छ

– छाउपडीविरुद्ध अभियान सञ्चालन गर्ने योजना छ

– प्रहरी नागरिकको सुख–दुःखको साथी हो, गाली किन गर्ने ?

– श्रीमती संघ किन खारेज गर्ने ?

अहिले संस्थामा कति बजेट छ ?

करिब ४ करोड बजेट छ। यही बजेटबाट कार्यक्रम सञ्चालन गर्ने गरेका छौं। संस्थाको पैसा विभिन्न बैंकमा मौजुद रहेको छ। सोही रकमको ब्याजबाट प्राप्त हुने रकमबाट कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं। साधारण सदस्यता नवीकरणमार्फत पनि केही रकम थपिन्छ।

समाजमा रहेको विकृति हटाउन कस्तो खालको कार्यक्रम सञ्चालन गर्नुपर्छ ?

समाजमा रहेको विकृतिका कारण अशिक्षा हो। अज्ञानता हो। अन्धविश्वास र कुरीतिका कारण समाजमा विभिन्न खालका घटना घटने गरेका छन्। समाजलाई समृद्ध बनाउनका लागि पहिलो सर्त शिक्षित बनाउनुपर्छ। यसका लागि जनचेतनाकै कार्यक्रम सञ्चालन गर्नुको अर्को विकल्प छैन।

समाजमा विशेष गरी महिला हिंसाको घटना हुने गरेका छन्। शिक्षा प्राप्त नहुँदा कहाँ जाने के गर्ने ? कसरी बोल्ने ? उहाँहरूलाई केही पनि थाहा हुँदैन। महिलाले शिक्षा पाएमा आफैं सक्षम हुन्छन्।

संघले चाहिँ जनचेतनाको कार्यक्रम सञ्चालन गरेको छ कि छैन ?

गत वर्षको जेठ १६ देखि गतेदेखि २३ सम्म दाङ, धनगढी, नेपालगन्ज, सुर्खेत र दैलेखमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्यौं। यस वर्ष जेठ १२ गतेदेखि २३ गतेसम्म झापादेखि पश्चिम कञ्चनपुरसम्म अभियान सञ्चालन गर्यौं।महिला हिंसा, यौन दुव्र्यवहार, साइबर क्राइम, ट्राफिकसम्बन्धी जनचेतना, बालविवाह, लागूपदार्थको दुव्र्यसनका बारेमा जनचेतना फैलाउने काम गर्यांै।

३ हजार विद्यार्थीलाई यसका बारेमा प्रशिक्षण दिने काम भएको थियो। अहिले पनि यस्ता कार्यक्रम पुनः सञ्चालन गर्न स्थानीय निकायहरूबाट माग भएको छ। हामी वार्षिक योजना बनाएर नै  जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने गरेका छौं।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन भइरहेको छ। यो कार्यक्रममा संघले कसरी साझेदारी गरिरहको छ ?

समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारीरूपमा अगाडि बढेको छ। यो कार्यक्रमले समाजको हरेक पक्षलाई जोड्ने काम गरेको छ।हामीले प्रहरीसँगको सहकार्यमा ठाउँ–ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका साथै जनचेतनाको कार्यक्रम गर्न सहकार्य गरेका छौं।

प्रहरी संगठनभित्र काम गरेर जीवन गुमाउने परिवारहरूको व्यवस्थानमा संघले कस्तो भूमिका खेल्दै आएको छ ?

पूर्वप्रहरी तथा अशक्त प्रहरीहरूलाई विभिन्न माध्यमबाट हामीले सीमित सहयोग गरिरहेका छौं, जुन पर्याप्त र समयसापेक्ष छैन।हामीले सकेको आर्थिक सहयोग गर्दै आएका छौं।

एक वर्षको अवधिमा वीरगति प्राप्त गर्नुहुने परिवारलाई प्रतिपरिवार २० हजार आर्थिक सहयोग गर्ने गरेका छौं। उहाँका छोराछोरीलाई छात्रवृत्ति दिने गरेका छौं।

समाजमा महिला हिंसाको घटना दिनहुँ हुने गरेका छन् नि ?

यसको कारण अशिक्षा, गरिबी, बेरोजगार र जनचेतनाको कमी नै हो।यो समस्यालाई शिक्षाको माध्यमबाट जनचेतना फैलाउने, गरिबी घटनाउन आय–आर्जनको कामलाई जोड दिनुपर्छ।

केही घटनामा प्रहरीको चर्को आलोचना हुने गरेको छ, के प्रहरीले काम गर्न नै नसकेर आलोचना भएको हो भन्ने यहाँलाई लाग्छ ?

देशको शान्ति सुरक्षामा अहोरात्र प्रहरीले खटेर काम गर्दै आएको छ। प्रहरीले समाजलाई राम्रो बनाउनका लागि काम गरेको छ। तर पनि केही घटना विशेषलाई जोडेर प्रहरीले काम नै गर्न सकेन भनेर आरोप लगाउने प्रवृत्ति सरासर गलत छ। पीडितलाई न्याय दिलाउने काममा प्रहरी लागेको छ।

काम गर्दागर्दै पनि दोषारोपण हुँदा दुःख लाग्छ। प्रहरीले कसरी काम गर्छ भन्ने त हामीले पनि बुझेका छौं। केही भएन भनेर अपजसको भारी थोपर्ने काम नागरिकले गर्नुहुँदैन।

प्रहरी नागरिकको दुःख–सुखको साथी हो।प्रहरीलाई सकारात्मकरूपमा बुझौं, कुनै पनि घटनाको अनुसन्धान गर्नका लागि प्रहरीलाई सहयोग गरौं। जसका कारण समाजमा हुने आपराधिक घटना कम हुँदै जान्छ।

जहाँ जे घटना घट्छ त्यहाँ पहिला प्रहरीकै खोजी हुने गर्छ। यो त नागरिकले प्रहरीमाथि गरेको विश्वास हो नि त। अहिले डेंगु मार्नका लागि प्रहरी नै चाहिएको छ। अपवादको घटनाबाहेक राम्रो काम गर्दा पनि प्रहरीमाथि आक्षेप लगाउँदा दुःख लाग्छ।

नेपाल प्रहरी श्रीमती संघ खारेज गर्नुपर्छ भन्ने विषय संसद्मा नै उठ्यो नि ⁄ यसलाई तपाईंले कसरी लिनुभएको छ ?

यो संस्था सरकारको नियम र कानुनअनुसार दर्ता भएर सञ्चालनमा आएको छ। यसले गर्ने सबै काम पारदर्शी छ। नागरिकलाई विपद्मा सहयोग गर्ने कार्यमा पनि भूमिका खेल्दै आएको संस्था हो। कानुनविपरीत कुनै पनि काम गरेका छैनौं।

कानुनको अधिनभित्रै रहेर काम गरिरहेका छौं। यस्ता काम गर्दागर्दै पनि खारेज गर्नुपर्ने माग किन उठ्यो ?

अहिले चारवटा श्रीमती संघ सक्रिय छन्।नेपाल प्रहरी, सैनिक श्रीमती संघ, सशस्त्र प्रहरी परिवार महिला संघ, र निजामती श्रीमती संघ छन्। कुनै पनि श्रीमती संघहरूले कानुनविपरीत र राष्ट्रिय हितविपरीत काम गरेका छैनन्।

आगामी कार्यक्रम के गर्दै हुनुहुन्छ ?

पूर्वअशक्त प्रहरीको परिवारका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं। तर, हाम्रो मात्र स्रोतले यो कार्य सम्भव छैन। आगामी प्रहरी दिवसमा अमर प्रहरी परिवारबाट जीवनयापन नै गर्न नसक्ने परिवारलाई छनोट गरेर आर्थिक सहयोग गर्ने विषयमा हामीले छलफल गरिरहेका छौं।

यसका साथै उहाँहरूका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरेर आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिएर कार्यक्रम सञ्चालन गर्ने विषयमा सोच बनाएका छौं। सुदूरपश्चिममा जहाँ अहिले पनि छाउपडी प्रथा छ, त्यहाँ जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने योजना, हामीले छिट्टै नै समाजमा कुप्रथाका रूपमा रहेको छाउपडी प्रथा हटाउन जनचेतनाको कार्यक्रम लिएर जान्छौं।

लागूऔषध दुव्र्यसनीको कुलतमा लागेका बालबालिकालाई सुधार गरेर पुनः समाजमा नै फर्काउने कामलाई निरन्तरता दिन्छौं। मुख्य कार्यालय हाम्रो रानीबारीमा छ, गत चैतबाट धरानको पानबारीमा पनि सञ्चालन गरेका छौं। गत माघबाट गौशालामा  महिलाका लागि पनि सुधार केन्द्र सञ्चालन गरेका छौं।

सुधार केन्द्र स्थापना गरेर सञ्चालन गर्न सकेको अवस्थामा जनसहभागिता पनि आफैं जुट्दै जाने रहेछ। यसको उदाहरणका रूपमा धरानको पानीबारीलाई लिन सकिन्छ। सातवटै प्रदेशमा विस्तार गर्ने योजना छ। पोखरा र दाङको लमहीमा जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको छ।

प्रहरीले पनि श्रीमती संघका लागि बजेट दिने गरेको छ ?

छैन। हामीले मानवीय सहयोगचाहिँ लिन्छौं। प्रहरीसँग आर्थिक सहयोग एक रुपियाँ पनि लिएका छैनौं। राजविराजमा एउटा पेट्रोल पम्प सञ्चालन छ।

तर, त्यसको भौतिक पूर्वाधार निर्माणको काम व्यस्थित गर्न सकिएको छैन। आधुनिक र व्यवस्थित बनाएर सञ्चालन गर्ने योजना छ।

नेपाल प्रहरी श्रीमती संघ लोकतान्त्रिक भएन भन्ने गुनासो छ नि ?

देशको राजनीतिक परिवर्तनसँगै नेपाल प्रहरी श्रीमती संघमा पनि परिवर्तन हुँदै आएको छ। विगतको जस्तो निरन्तरता अहिले रानीसाहेब प्रवृत्ति छैन। जनस्तरमा नेपाल प्रहरी श्रीमती संघ पुगेको छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपाल प्रहरी श्रीमती संघ विशुद्ध सामाजिक र मुनाफारहित संस्था हो। यसले गर्ने सामाजिक कार्य नै हो। विपद्का बेला सकेको सहयोग पनि गर्दै आएका छौं। संघलाई प्रभावकारी र ऊर्जाका साथ अगाडि बढाउनका लागि सल्लाह सुझावको अपेक्षा पनि गर्दछु। स्थापनाकालदेखि अहिलेसम्म लक्षित उद्देश्य प्राप्तिका लागि संघ  निरन्तरतरूपमा क्रियाशील छ।

प्रतिक्रिया दिनुहोस्