भाषा–संस्कृति संरक्षण हाम्रो कर्तव्य



पछिल्लो समय भाषा, धर्म र संस्कार–संस्कृति संकटमा पर्दै गएकाले यसको जगेर्ना गर्नुपर्ने आवाजहरू उठिरहेका छन्। अहिलेका नयाँ पुस्ताका युवाहरूले मौलिक धर्म र संस्कृतिबारे बुझ्न नखोज्ने प्रवृत्ति देखिएको छ।

त्यसै गरी, मुलुकमा रहेका विभिन्न समुदायले आफ्नो धर्म, संस्कृति र रीतिरिबाज छोड्दै गएको अवस्था छ। पुर्खाले आर्जेको धर्म, संस्कृतिको जगेर्ना गरेर नै समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यही नै सत्मार्ग र सही बाटो हो।

हामीले हाम्रो सामाजिक मूल्य मान्यता र संस्कृतिलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अत्यन्तै जरुरी देखिन्छ। नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो।

गाउँदेखि शहरबजारमा भाषा, धर्म, संस्कार–संस्कृतिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। धर्म–संस्कृति जोगाउन गाउँ–गाउँ तथा शहरबजारमा जागरण अभियान सञ्चालन गर्नुपर्छ।

आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच संगठित हुनु आवश्यक छ। त्यसैले, एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ।

– प्रकाश थापा, तनहुँ।

प्रतिक्रिया दिनुहोस्