पत्रकार न्यौपानेको सम्पदा लडाईं सार्वजनिक



न्युज अफ नेपाल, काठमाडौं । पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको सातौं कृति सम्पदा लडाईं शनिबार विमोचन गरिएको छ । राजधानीको वसन्तपुरस्थित डबलीमा आयोजित एक कार्यक्रमका वीच उक्त कृतिको विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा लडाईंको सार्वजनिक गर्नु भएको हो । पुस्तक सार्वजनिक गर्दै उहाँले नेपालका हजारौं सम्पदाहरुलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गर्नु पर्ने बताउनु भयो । पाको पुस्ताले समेत वास्ता गर्न छोडेको साँस्कृतिक सम्पदाको जगेर्नामा युवापुस्ता न्यौपानेको पहल अत्यन्तै प्रशंसनिय रहेको भन्दै श्रेष्ठले आज सार्वजनिक पुस्तक सम्पदा लडाईं सम्पदा मिच्नेहरुका लागि बलियो अस्त्र रहेको बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता प्रकाशमणि शर्मा , सम्पदाविद् रविन्द्र पुरी लगायतले मासिन लागेका सम्पदाहरुलाई हामी सबैले मिलेर जोगाउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । प्रस्तुत पुस्तक माथी समीक्षा गर्दै साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीले पत्रकार न्यौपानेको पुस्तकले हाम्रा इतिहासलाई बचाइराख्न सहयोग पुग्ने बताउनुभयो । पुस्तक आत्मपरक शैलीमा लेखिएको भएपनि भाव र विचार बलियो रहेकाले यो एउटा संग्रहणिय पुस्तक रहेको पनि उहाँको भनाई थियो ।

नेपाल प्राकृतिक दृष्य र सुन्दरताले त धनी नै छ । मानव निर्मित साँस्कृतिक सम्पदामा पनि नेपाल निकै नै अग्रस्थानमा छ । हामीले अहिले देख्ने गरेका मठमन्दिरहरु कहिले र कसले बनाए होलान् भनेर कमैलाई मात्र थाहा छ । कतिपयले यसको खोज र अध्ययन पनि गरेका छन् । गरिरहेका छन् अझैपनि । तर ती कति अपुरा होलान् , कति छुटेका होलान् । कतिपय ठाउँमा त यस्ता सम्पदाहरु मानव अतिक्रमित भएका छन् । जोगाउन पहल गर्नेहरु कम र अतिक्रमण गर्नेहरु धेरै भएका समाजमा सम्पदाहरुले आफ्नो अस्तित्व खोजीरहेका छन् ।

सम्पदाहरु हाम्रा इतिहास हुन् । हामी रानीपोखरीका कुरा गर्छौं, काष्ठमण्डपका कुरा पनि गर्छौं । पशुपतिनाथ, स्वयम्भु, चाँगुनारायण, चारुमति जस जसका कुरा गर्छौं , ती सबैका आफ्नै महत्व छन् र तिनीहरुले इतिहास पनि बोकेका छन् । हामीले अहिले देखेका यी साँस्कृतिक सम्पदाहरु युगौंदेखि उभिएका छन् , जिउँदो तर बोल्न नसक्ने स्तम्भ बनेर । यी सम्पदा हेर्दै हाम्रा थुप्रै पुस्ताहरु बिलाइसके यहि धर्तीमा , यहि माटोमा । हाम्रा बा, हजुरबाले भन्दै आउनु भएका कथाहरु पनि यी सम्पदाहरुसँग जोडिएर आएका छन् । सबैजसो साँस्कृतिक धरोहरहरुका आफ्नै किवंदन्तीहरु पनि छन् ।

तर युगौंदेखि आफ्नो अस्तित्व बचाएर ठडिइरहेका यी सम्पदाहरुलाई बेला बेलामा आउने गरेका भूकम्प लगायतका प्राकृतिक विपत्तीहरुले सधैं समस्या बनाइरहे । वि.सं. १९९० सालको विनासकारी भूकम्प होस् वा ०४५ सालको नै किन नहोस् , अझै ०७२ सालको महाविनासकारी भूकम्पले ढालेका सम्पदाहरु त अझैपनि उठ्न बाँकी नै छन् । केहि उठेका छन् तर ती पनि आधुनिक शैलीमा मात्र । पुरानो अवस्थाका आकृति नाशिएका छन् । यी विविध कुराहरु आफ्नो ठाउँमा छन् । अस्तित्व हराउने अवस्थामा पुगेका यी सम्पदा जोगाउन धेरै लडाईंहरु पनि भएका छन् ।

हाम्रा साँस्कृतिक सम्पदाहरु जोगाउन कहाँ कस्ता समस्याहरु आए त ? अथवा अझै कहाँ के भइरहेका छन् , भन्ने विषयमा आफूले लामो समयदेखि पत्रपत्रिकामा कलम चलाउँदै आएको र यो पुस्तक तयार गरेको लेखक दामोदर न्यौपानेले जानकारी दिए । कार्यक्रममा यिनै विषयवस्तुमा केन्द्रीत रहेर अतिथीहरुले पुस्तक माथी चर्चा गरेका थिए । साँग्रिला प्रकाशनले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्