स्यानेटरी प्याडको काम राम्रो देखे पछि अनियमितताको आरोप लगाईयोः उपप्रमुख खड्का



न्युज अफ नेपाल, रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले नगरपालिकाले गत आर्थिक वर्षमा गरेको योजना स्यानेटरी प्याड उत्पादन तथा वितरणमा अनियमितता भएको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गर्नुभएको छ । घरेलु स्यानेटरी प्याड उत्पादन गरी वितरण गर्ने योजना कार्यपालिकाको बैठकले निर्णय गरेको र सोही अनुसार कार्यान्वयन भएकाले अनियमितता भएको भन्ने प्रमाण विनाको भ्रामक समाचारमा कुनै सत्यता नभएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो– ‘गत आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मिति २०७६ बैशाख ८ गते बसेको कार्यपालिका सदस्य सहितको बैठकबाट स्यानेटरी प्याड निर्माण तालिम तथा ब्यवसय प्रवद्र्धन/ बजारीकारण लागि रकम छुट्याइएको र सोही अनुसार नगरपालिकामा सूचिकृत संस्था मध्येबाट कोटेशन माग गरेर संस्था छनौट गरी कार्यक्रम दिएको हो, अहिले त्यसै अनुरुप नगरका सबै माविमा अध्ययनरत छात्राहरुलाई स्यानेटरी प्याड वितरण भइरहेको छ ।’

आफै सहभागी भएको कार्यपालिकाको बैठकले निर्णय गरी काम समेत सम्पन्न भइसकेको अवस्थामा कार्यपालिकाका सदस्य निर बहादुर श्रेष्ठले ‘कुनै पनि निर्णय नगरी आफ्नै ढंगले कार्यक्रम ब्रेक डाउन गरेको र आफूू माताहतको संस्थालाई कोटेशन मागेर कार्यक्रम गरी अनियमितता गरेको’ भन्नु गैर जिम्मेवारी भएको उपप्रमुख खड्काले बताउनुभयो । साथै उहाँले उक्त कार्यक्रम गर्दा कुनै आर्थिक अनियमितता भएको भए पुष्टी गरेर देखाउन श्रेष्ठलाई चुनौती दिनुभयो । त्यस्तै अर्का कार्यपालिका सदस्य सरोज कटुवालले भनेजस्तो लक्षित वर्गको लागि छुट्याईएको बजेट भएता पनि कार्यपालिकाको निर्णय अनुसार स्यानेटरी प्याड बनाउने काममा खर्च भएको हो । सो स्यानेटरी प्याड बनाउने र प्रयोग विद्यालयका छात्राहरु पनि लक्षित वर्ग भित्रै पर्ने समेत उपप्रमुख खड्काले बताउनुभयो । महिलाहरुका लागि अति महत्वपूर्ण र उपयोगी कार्यक्रम भए पछि आगामी दिनमा आउने महिला लक्षित कार्यक्रम विफल बनाउने नियतले यस्तो आरोप लगाईएको उहाँको भनाई रहेको छ ।

उहाँले नगरपालिकाका महिलाहरुको लागि कार्यक्रम र योजना बनाउदा र कार्यान्वयन गर्दा कार्यपालिका भित्र र बाहिराबाट धेरै चुनौतीहरु आउने गरेको भए पनि आफू त्यस्ता चुनौतीहरुको डटेर सामना गर्दै नगरबासी महिलाको पक्षामा काम गरीरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले अझै समाजमा पुरुषबादी सोचका कारण महिला लक्षित कार्यक्रमहरु संचालन र कार्यान्वयनमा पछि पर्ने गरेको आरोप लगाउनुभयो ।

स्यानेटरी प्याड बनाउने सम्झौता यसरी भयो

कार्यपालिकाले निर्णय गरेको योजनालाई सार्वजनिक खरिद नियमावली २०६४ को दफा ८२ (१) सार्वजनिक निकायलाई उपयोगी र आवश्यक पर्ने तालिम, गोष्ठी र सेमिनार जस्ता विषयमा मात्र सेवा लिनु परेमा पाँच लाख रुपैयाँसम्मको परामर्श सेवामा सार्वजनिक निकायको प्रमुख आफैंले र सोभन्दा माथि बीस लाख रुपैयाँसम्मको हकमा एक तह माथिको अधिकारीको स्वीकृति लिई ऐनको दफा ३७ को प्रतिकूल नहुने गरी सोझै वार्ताबाट खरिद गर्न सकिने उल्लेख छ । सोही अनुसार नियम संगत तरिकाले आफूले काम गरेको रामेछाप नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत इश्वरराज दाहालले बताउनुभयो ।

मिति २०७६/२/१५ मा तीन ओटा संस्थाले कोटेशन हालेको र मिति २०७६/२/१९ मा ग्रामिण विजनेशन प्रमोशन/ग्रामिण प्रवद्र्धन केन्द्र (जेभी) लाई स्यनेटरी प्याड निर्माण तालिमको लागि ४ लाख ९९ हजार ७ सय २२ रुपैयामा सम्झौता भएको छ । त्यस्तै मिति २०७६/३/८ मा ग्रामिण प्रवद्र्धन केन्द्रसँग स्यानेटरी प्याड उत्पादन तथा वितरणको लागि ४ लाख ९८ हजार ३ सय ३० रुपैँयामा सम्झौता योजना सम्झौतामा उल्लेख छ । स्यानेटरी प्याडको काम गर्ने दुई ओटै संस्था भ्याटमा दर्ता रहेका छन् ।

सम्झौता अनुसार सबै काम भएको छः कार्की

ग्रामिण विजनेशन प्रमोशन/ग्रामिण प्रवद्र्धन केन्द्र (जेभी) का संचालक गुञ्ज बहादुर कार्कीले सम्झौतामा उल्लेख भए अनुसार पहिलो चरणमा रामेछाप नगरपालिकाका सबै वडाका लक्षित वर्ग भित्रै पर्ने २१ जना महिलाहरुले तालिम लिइसकेको बताउनुभयो । संचालक कार्कीले स्यानेटरी प्याड उत्पादन तथा वितरणको जिम्मा लिएको संस्थाले पनि सम्झौतामा उल्लेख भए बमोजिम ५ हजार थान भन्दा बढी घरेलु स्यानेटरी प्याड उत्पादन गरी तत्कालिन समयमा विद्यालय बिदा भएको र अहिले नगर भित्रका माविमा अध्ययनरत छात्राहरुलाई उक्त प्याड निशःल्क रुपमा वितरण गर्ने कार्य भइरहेको बताउनुभयो । साथै उहाँले घरेलु स्यानेटरी प्याड निर्माण तालिमको उद्घाटन र समापन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायतको सहभागिता रहेको समेत जानकारी दिनुभयो ।

कार्यपालिकामा निर्णय भएको हो, तर सम्पन्न कामको विवरण थाहा छैन्ः वडा अध्यक्ष श्रेष्ठ

उता वडा नं. २ का वडा अध्यक्ष निर बहादुर श्रेष्ठले स्यानेटरी प्याड उत्पादन तथा वितरणको लागि आफू समते सहभागी भएको कार्यपालिकाको बैठकले निर्णय गरेको बताउनुभयो । उहाँले स्यानेटरी प्याड निर्माण तालिममा आफ्नो वडाबाट दुई जना महिला पठाएको बताउनुभो । उहाँले भन्नुभयो– ‘स्यानेटरी प्याड बनाउने निर्णय भएको हो, त्यो काम उपप्रमुखको पहलमा भयोे, कुन–कुन संस्थालाई कोटेशन माग गरे, कुन–कुन संस्थाले काम ग¥यो भन्ने जानकारी समेत आफूहरुलाई कार्यपालिकामा गराइएको छैन् र कार्यक्रम कुन हिसाबले गरियो भन्ने विवरण मलाई थाहा छैन् ।’ कार्यपालिका सदस्य समेत रहनुभएका अध्यक्ष श्रेष्ठले यस अघि एक अनलाइनमा उपप्रमुखले स्यानेटरी प्याड उत्पादन तथा वितरणमा अनियमितता गरेको समाचार आएको तर, उपप्रमुखले अनियमितता गर्नुभएको छ भनेर आफूले किटन नगरेको समेत स्पष्ट पार्नुभयो ।

त्यस्तै अर्का कार्यपालिका सदस्य सरोज कटुवालले कार्यपालिकाको निर्णय अनुसार नै स्यानेटरी प्याड निर्माणको तालिम सम्पन्न भइसकेको र त्यस पछि वितरणको कामको जिम्मा लिएको संस्थाले स्यानेटरी प्याड वितरण गरीरहेको बताउनुभयो । उहाँले कार्यक्रम गर्न कसरी संस्था छनौट भयो, नियमसंगत छ की छैन्, अनियमितता भएको छ की छैन भन्ने कुरा कार्यपालिकासँग सम्बन्धित नभएकाले यस विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्नु पर्ने बताउनुभयो । समाचारमा आएका सबै कुरा सत्यता नभएकाले यस विषयमा आगामी कार्यपालिकाको बैठकमा छलफल समेत हुने उहाँले बताउनुभयो ।

केही समय अघि एक अनलाईनले कार्यपालिकाको भनाई सहित राखेर ‘रामेछाप नगरपालिका ः स्यानेटरी प्याडमा उपप्रमुखको अनियमितता’ शिर्षकमा समाचार प्रकाशन गर्दा नगर प्रमुख, उपप्रमु र कार्यपालिकाका सदस्य बीचको दुरी बढाउने कार्यमा थप बल पुगेको केही कार्यपालिका सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्