शिक्षा दिवसमा प्रभातफेरी कार्यक्रमको आयोजना सम्पन्न



न्युज अफ नेपाल, भक्तपुर । राष्ट्रिय शिक्षा दिवस–२०७६ लाई लक्षित गरी शनिवार एक कार्यक्रमको आयोजना गरिएको छ । बुद्ध सामुदायिक सिकाई केन्द्र गठ्ठाघरले ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं राष्ट्रिय शिक्षा दिवस–२०७६ को अवसरमा शनिवार मध्यपुर थिमिमा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

प्रदेश ३ का माननीय सभासद डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा आदर्श माध्यमिक विद्यालय लायकु ठिमी, गणेश मा.वि. नगदेश ठिमी र बालप्रेमी मा.वि. विष्णुवीर ठिमीका विद्यार्थी, शिक्षक र विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको उद्घाटन सभासद डा. श्रेष्ठले शिक्षा दिवसका नारा पढेर गर्नु भएको थियो । अतिथिको स्वागत तथा कार्यक्रमको उद्देश्यबारे सिकाइ केन्द्रका संस्थापक अध्यक्ष एवम् संरक्षक रामप्रसाद न्यौपानेले जानकारी गराउनुभएको थियो ।

नगरपरिक्रमा कार्यक्रममा विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख खेमनाथ पोखरेल, मध्यपुर थिमि नगरपालिकाका शिक्षा प्रमुख बालकृष्ण गैरे, जिल्ला शिक्षा भक्तपुरका शिक्षा अधिकृत खुलानाथ गौतम, मथिनपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, आदर्श माविका प्रअ बुद्धि कुमार घोलगायत शिक्षकहरुको उत्साहजनक सहभागिता थियो ।

यस वर्षको शिक्षा दिवसका लागि तय गरिएको मूल नारा “हामी सबैको प्रणः सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण” र अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा “साक्षरता र बहुभाषिकता” लगायत विभिन्न नारा अंकित प्ले कार्ड बोकेका विद्यार्थीहरुभन्दा अघिल्लो पंक्तिमा धिमे बाजाका साथ निस्किएको ¥याली बालकुमारीबाट शुरु भई चपाचो, बहाखाबजार, नगदेश गार्चा हुँदै पाटीबिहार पुगेर सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा शिक्षा दिवसका बारेमा जिल्ला शिक्षा प्रमुख खेमनाथ पोखरेल र नगर शिक्षा प्रमुख बालकृष्ण गैरेले प्रकाश पार्नुभएको थियो भने लागू औषध दुव्र्यसनबाट बच्ने उपायबारे महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरका प्रहरी निरीक्षक राजीव गिरीले जानकारी गराउनुभएको थियो । संस्थाकी परिचालिका कमला भट्टराईद्वारा सञ्चालित सो कार्यक्रमको बिसर्जन, सहभागी तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन केन्द्रका अध्यक्ष बद्रीप्रसाद तिवारीले गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्