सिन्धुपाल्चोक ६८ औं खुला दिसामुक्त जिल्ला



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शुक्रबार एक समारोहकाबीच सिन्धुपाल्चोक जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । खानेपानी मन्त्री बीना मगरले सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । खुला दिसामुक्त घोषणा भएसँगै सिन्धुपाल्चोक खुला दिसा मुक्त हुने ६८ औं जिल्लाका रुपमा दर्ज भएको छ ।

सिन्धुपाल्चोक खुला दिसामुक्त भएकोमा सरसफाई अभियानका अभियन्ता र जिल्लावासीलाई मन्त्री मगरले बधाई ब्यक्त गर्नुभयो । विपदका बीचपनि सिन्धुवासीले शौचालय निर्माणमा अग्रसरता देखाएको भन्दै मन्त्री मगरले सरसफाई प्रवद्र्धनमा सिन्धुवासीको भुमिका सरहानिय रहेको बताउनुभयो । ‘भूकम्पको पीडामा पनि सिधुवासी शौचालय निर्माणमा जुट्नुभयो , तपाईहरुको यो भुमिका प्रशंसनीय छ’, मन्त्री मगरले भन्नुभयो ।

शौचालय निर्माणसँगै त्यसको दीगो उपयोग र उचित व्यवस्थापनको पाटो झनै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । काठमाडौंलाई सिन्धुपाल्चोकले ठूलो गुन लगाउन लागेको भन्दै सुन्दर र सफा सिन्धुपाल्चोकका लागि जुनसुकै साथ सहयोग गर्ने उहाँले प्रतिवद्धता समेत गर्नुभयो । ‘सिन्धुपाल्चोकलाई खानेपानी समस्याबाट मुक्त जिल्ला बनाउनका लागि हामी प्रतिवद्ध छौं’, मन्त्री मगरले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पूर्व कानुन मन्त्री एवम प्रतिनीधि सभा सांसद शेरबहादुर तामाङले खुला दिसामुक्त जिल्ला घोषणा गरेर सिन्धुपाल्चोकको पहिचान थप भएकोमा खुसी ब्यक्त गर्दै यो अभियानका अभियन्ताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो । खुला दिसामुक्त जिल्ला घोषणा समारोहमा यो अभियानमा साथ सहयोग पु¥याउने ब्यक्ति तथा संघसंस्थाहरुलाई प्रशंसापत्र र सम्मानपत्र प्रदान गरिएको थियो ।

०६९ सालमा जिल्लामा सरसफाई प्रवद्र्धन कार्यक्रम अन्तर्गत खुला दिसामुक्त क्षेत्र बनाउने अभियान सुरु भएको थियो । त्यसबेला जिल्लाका ३६ प्रतिशत घरधुरी मात्र शौचालयको सहज पहुँचमा थिए । ०७२ बैशाखसम्म ९९ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पु¥याइएपनि भूकम्पका कारण जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएको हो । भूकम्पपछिको नवनिर्माणसँगै जिल्लामा ८८ हजार घरपरिवार शौचालयको पहुँचमा पुगेको जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्