मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको चिसापानीमा शुक्रबार भएको सुमो दुर्घटनामा १० महिने नाबालिकासहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ यात्रु घाईते भएका छन् ।

मृत्यु हुनेमा रामेछाप जिल्ला रजन गाउँपालिकाकी १० महिने बालिका समरागी माझी, महोत्तरी माईस्थान–६ का ७० बर्षीय बिरसिंह वाईवा, जिल्ला सर्लाही बरहथवा नगरपालिका–३ का ६० बर्षीय महेन्द्र सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका वाईवा र सहनीको हेटौंडा अस्पतालमा र १० वर्षिया बालिका समरागीको चुरेहील अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमा सविता माझीसँगै सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना १ ज ३६४० नम्बरको सुमो दुर्घटनामा बालिकाको मृत्यु भएको हो । उनकी आमा सविता घाईते भएकी छिन् ।

हेटौंडा(काठमाडौं छोटो दुरीको मार्गमा पर्ने हेटौंडा(फाखेल खण्ड अन्तर्गत चिसापानीमा टाटासुमो सडकबाट ५० मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाईते भएका अन्य ८ यात्रुको हेटौंडा अस्पताल र चुरेहील अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्