पुजन र श्रीया च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं। चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ तथा नवज्ञान भूमिकी श्रीया खड्का द चाँदवाग अन्तरस्कुल गोजुकाई कराँते प्रतियोगिताअन्तर्गत एकल काँतामा च्याम्पियन भएका छन्।

बिहीबार बाँसबारीस्थित चाँदवागमा भएको छात्रतर्फ पुजन र छात्रातर्फ श्रीयाले अन्य ८ स्कुलका प्रतिस्पर्धीलाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन्।

यस्तै छात्रतर्फ मित्रपार्क डोजोका सोहेन्द्र रानामगर दोस्रो र आयोजकका प्रविज्ञ कोइराला तेस्रो बने। छात्रातर्फ सायुरी राई दोस्रो हुँदा पुष्पा श्री र अंशु गुरुङ संयुक्तरूपमा तेस्रो भएका थिए।

काठमाडौं उपत्यकाका २० स्कुलको सहभागिता रहेको प्रतियोगितामा छात्रतर्फ ५० केजी तौल समूहमा चाँदवागका मनग्य कोइराला र छात्रातर्फ २० केजी तौल समूहमा चाँदवागकी श्रीयाक्षी खत्रीले स्वर्ण पदक हात पारे।

मनग्यले प्राक्सिस इन्टरनेसनलका नीतेश राईलाई र श्रीयाक्षीले गोल्डेन पिककी सोफिया कुँवरलाई हराएका थिए।

छात्रतर्फ विभिन्न १० तौल समूह र छात्रातर्फ ९ तौल समूह गरी प्रतियोगितामा १९ स्वर्ण, ३८ कांस्य र १९ रजत पदकका लागि प्रतिस्पर्धा भएको थियो।

दुईदिने प्रतियोगितामा ५ स्वर्णसहित नवज्ञानभूमि पहिलो बन्यो। ३ स्वर्ण जितेको आयोजक चाँदवाग दोस्रो र २ स्वर्ण हासिल गरेको बाँसबारी स्कुल तेस्रो स्थान रहेका थिए।

प्रतियोगितामा चाँदवागका पुजन तामाङ पुरुषतर्फ तथा इमानियोल डोजोकी एन्जल गुरुङ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए। विजयी खेलाडीलाई गोजुकाई कराँतेको मुख्यालय जापानबाट आएका प्रतिनिधि सिन्हान हिदेकी वाकासुगी र नाओतो सुग्युराले पुरस्कार प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्