राजतन्त्रले होइन, डेंगुले च्यालेन्ज



‘सरकारलाई असफल बनाउन देशी–विदेशी तत्व लागि परेका छन्, राजतन्त्रलाई पनि ब्युँत्याउने खेल भइरहेको छ’ दुई तिहाइ बहुमतको भारी भएका सत्ता कित्ताका नेता बेला–बेला यसरी बर्बराइरहन्छन्।

बोलीमा साँच्चै दम छ कि बहुमतको बोझ धेरै भएर सम्हाल्न गाह्रो भा हो धरहराले बुझ्न सक्या छैन।
राजतन्त्र र देशी–विदेशी तत्वको चुरो कुरो स्वयं तर्क गर्ने नेताले त बुझ्न सक्या छैनन् भने यो बबुरो धरहराले के बुझ्न सक्छ र ?

तर सरकारलाई स्वदेशी जीवजन्तुले लखेट्न थालेको भने प्रस्ट छ। डेंगु सरकारविरुद्ध आन्दोलनमा होमिएको छ। एक कान दुई कान मैदान भनेझैं मुलुकका आधाभन्दा बढी जिल्लामा डेंगुले उपस्थिति जमाइसकेको छ।

डेंगुले अब आम सर्वसाधारणलाई मात्रै होइन, मन्त्री, डाक्टर, नर्समाथि नै हमला शुरू गरिसक्यो। अर्थात् मन्त्री, डाक्टर, नर्स नै डेंगुपीडित भएर अस्पतालमा भर्ना भा छन्।

जो उपचारका लागि जुट्नुपर्ने हो उही थलिन थालेसी डेंगुको राज अन्यत्र पनि नफैलिएला भन्न सकिन्न। डेंगुले खुलेआम यस्तो च्यालेन्ज दिइराख्या बेला सरकार प्रतिकारमा उत्रिन सक्या छैन।

यस्तै अवस्थाका बीच डेंगु सम्राज्य अर्को महिनादेखि कमजोर बन्ने निधो छ, जाडो बढ्न थालेसी डेंगुको दादागिरी स्वतः सेलाउनेछ। मौसमले च्यालेन्ज गरेर डेंगु ब्याक भएसी सरकारले सफलताको सूचीमा पो थप्ने हो कि ?

 

 

प्रतिक्रिया दिनुहोस्