नेपाल र भारतका बैंकहरूको एटीएमबाट ३ करोडभन्दा बढी लुटिए



परिवर्तन देवकोटा, काठमाडौं। चिनियाँ ह्याकरहरूले नेपाल तथा भारतका विभिन्न बैंकहरूको एटीएमबाट ३ करोड ५८ लाख ८४ हजार २० रुपियाँ चोरी गरेको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकबाट गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चिनियाँ ह्याकरहरूले गत भाद्र १४ गते शनिवार विहान ११ बजेदेखि साँझ ४ बजेर ३५ मिनेटको समयवधिमा बैंकहरूको एटीएमबाट रकम निकालेका थिए।

चिनियाँ ह्याकरहरूले करिब साँढे पाँच घण्टाको अवधिमा नेपालबाट ७ वटा बैंकको विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंकको विभिन्न स्थानमा रहेका ६८ वटा एटीएमबाट रकम निकालेका थिए। उनीहरूले नेपालका विभिन्न बैंकका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपियाँ निकालेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

चनियाँ ह्याकरहरूले करिब साँढे पाँच घण्टाको अवधिमा नेपालबाट ७ वटा बैंकको विभिन्न कार्डहरू प्रयोग गरी १७ वटा बैंकको विभिन्न स्थानमा रहेका ६८ वटा एटीएमबाट रकम निकालेका थिए।

सोही समयमा चिनियाँ ह्याकरहरूले भारतबाट ६ वटा नेपालका वाणिज्य बैंकहरूको विभिन्न कार्डहरू प्रयोग गरी रकम चोरी गरेको थियो। ह्याकरहरूले भारतबाट नेपालका बैंकका विभिन्न कार्डहरू प्रयोग गरी भारतका विभिन्न २४ बैंकका १ सय ३२ एटीएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपियाँ चोरि गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

गत शनिवार नेपालका विभिन्न बैंकका एटीएमहरूबाट रकम चोरि भएपछि नेपाल राष्ट्र बैंकको भुक्तानी विभागकाा महानिर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त समितिले विभिन्न अध्ययन गरि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदन अनुसार ह्याकरहरूले भिजा इन्टरनेशनलसँ आवद्ध नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टक (नेप्स)का सदस्य बैंकहरूको क्लोन डेबीट तथा क्रेडिट कार्डहरू प्रयोग गरि एटीएमबाट रकम निकालिएको देखिएको छ।

ह्याकरहरूले एटीएम निकालेकै समयमा भएका वास्तविक कारोबारहरू पनि यसैमा परेकाले थप अन्य कारोबारहरूको परीक्षण गर्ने काम भैरहेको भन्दै छानबिन समितिले चोरि भएको रकम केही कम हुन सक्ने समेत जनाएको छ।

यस्ता छन् छानबिन समितिका सुझाव

यस्तै छानबिन समितिले एटीएमबाट रकम लुटिएको विषयमा फरेन्सिक विज्ञहरूबाट सुक्ष्म अध्ययन तथा विश्लेषण गरि प्राप्त सुझावहरू कार्यान्वयन गर्नुपर्ने औंल्याएको छ। कार्ड प्रणाली लगायत भिजा, मास्टर कार्डको हिसाब मिलान कारोबार भएको अर्को दिनभित्र गर्ने व्यवस्था मिलाउन पनि छानबिन समितिले सुझाव दिएको छ।

नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका नेपाली मुद्राका डेबिट तथा क्रेडिट कार्डहरू संस्था र सेवाग्राही दुवैतर्फ चीप/पीनको माध्यमबाट मात्रै कारोबार हुने व्यवस्था गर्न पनि छानबिन समितिले सुझाव दिएको छ। छानबीन समितिले कार्डसँग सम्बन्धित नेटवर्क र सिस्टमको सुपरिवेक्षण नियमित गर्न पनि सुझाएको छ ।

कार्डसँग सम्बन्धित सूचना प्रणालीको वार्षिक रुपमा अडिट गर्ने व्यवस्था मिलाउनुपर्ने बताउँदै समितिले इजाजतपत्रप्राप्त वित्तीय सेवा प्रदायक संस्थाहरूले साईबर सेक्युरिटीको जोखिमबाट हुन सक्ने सम्भावित नोक्सानी न्यूनीकरण गर्न साइबर सेक्युरिटी बीमा गर्नु पर्ने व्यवस्था मिलाउन जोड दिएको छ।

हामीलाई धेरै पाठ सिकायो ः राष्ट्र बैंक

चिनियाँ हकरहरूले बैंकिङ प्रणाली नै ह्याक गरी नेपालका विभिन्न बैंकहरूबाट रकम चोरि गरेको घटनाले आफूहरूलाई धेरै पाठ सिकाएको राष्ट्र बैंकले बताएको छ। बैंकहरूले अब यो घटनाबाट पाठ सिकी आफूहरूलाई थप क्रियाशील बनाउनुपर्नेमा राष्ट्र बैंकको जोड छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आफूहरूले यस घटनाबाट धेरै पाठ सिकेको बताउँदै प्रविधि र प्रणालीगत सुधारमा लाग्नुपर्ने बताउनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले बैंकहरूले चौबिसै घण्टा चुस्त दुरुस्त रही कार्य सञ्चालन गर्नुपर्ने, थप सुरक्षात्मक रणनीतिहरू अवलम्बन गर्नुपर्ने बताउँदै अब यसैअनुरुप अघि बढ्ने उल्लेख गर्नुभयो।

‘यस घटनाबाट हामीले धेरै कुरा सिक्यौं,’ उहाँले भन्नुभयो,‘हामी अब बैंकहरूलाई थप सक्रिय बनाउनेतर्फ अघि बढ्छौं।’ बैंकहरूले पनि कारोबारलाई चुस्त दुरुस्त बनाउँदै थप सक्रिय हुनुपर्ने उहाँको भनाई छ।

हङकङबाटै झिकाइयो फरेन्सिक विज्ञ

छानबिन समितिले थप अनुसन्धानका लागि फरेन्सिक विज्ञ झिकाउनुपर्ने राष्ट्र बैंकलाई सुझाव दिएको छ। यता नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले भने फरेन्सिक विज्ञ झिकाइसकेको छ।

नेप्सले हङकङबाटै झिकाएको फरेन्सिक विज्ञहरूको टोली बुधबार राती काठमाडौं आइपुगेका थिए। फरेन्सिक विज्ञहरू विहिबाटै अनुसन्धानमा खटिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलेले जानकारी दिनुभयो।

उहाले भन्नुभयो,‘नेप्सले नै हङकङबाट फरेन्सिक विज्ञहरूलाई झिकाएको छ, आजैबाट उहाँहरूले अनुसन्धान शुरू गरिसक्नुभएको छ।’ फरेन्सिक विज्ञहरूको अनुसन्धान पुरा भएपछि थप केही प्राविधिक सुरक्षा अपनाउने उहाँको भनाई रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्