शिक्षकको तलबी फारममा अनियमितताको आशंका



मनोज भट्ट, महेन्द्रनगर। भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूले चर्को मुल्यमा तलब माग फाराम भर्नु पर्ने गरेको पाइएको छ। भीमदत्त नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकले भर्नुपर्ने तलबी माग फारामको शूल्क चर्को भएको आरोप लगाएका छन्।

विगतका वर्षको तुलनामा यस वर्ष भरिएको माग फाराममा दोब्बर बढी शुल्क तिर्नुपरेको शिक्षकहरूको भनाइ छ। बिगतका वर्षहरूभन्दा यस वर्ष माग फाराममा ‘भीमदत्त नगरपालिका’ उल्लेखित भएको हुनाले शुल्क दोब्बर तिर्नुपरेको नाम गोप्य राख्ने सर्तमा एक शिक्षकले बताए।

विगतका वर्षमा ५ रुपियाँमा पाइने तलबी माग फाराम यस वर्ष ‘भीमदत्त नगरपालिका’ उल्लेख गर्नुपर्ने भएपछि दोब्बरभन्दा बढी अर्थात १२ रुपियाँमा किन्नुपरेको उनको कथन छ। ‘अगाडिका वर्षमा ५ रुपियाँमा पाइन्थ्यो। यस वर्ष फाराम बापत सिधै दोब्बर शुल्क लिने गरिएको छ।

नाम गोप्य राख्ने सर्तमा ती शिक्षकले भने– ‘फाराममा भीमदत्त नगरपालिका उल्लेख गर्नुपरेपछि शुल्क बढी लिइएको हो।’ शिक्षकले भर्नुपर्ने उक्त तलबी माग फाराम महेन्द्रनगरको एकै स्थानबाट मात्र पाइने गरेको छ। ‘भीमदत्त नगरपालिका’ अंकित तलबी माग फाराम सोही स्थानबाट १२ रुपियाँमा किन्नुपरेको शिक्षकहरूको भनाइ छ।

केही दिनअगाडि बसेको नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठकमा समेत ‘भीमदत्त नगरपालिका’ उल्लेख भएको माग फाराम सोही स्थानमा पाइने र त्यहाँबाट लैजान भनिएको शिक्षकहरू बताउँछन्।
महेन्द्रनगरको एक स्थानबाट फारामहरू पाइने भन्दै एकलौटी ढङगले त्यही ठाउँबाट चर्को शुल्कमा फाराम वितरण गर्न खोजिएको शिक्षकहरूका आरोप छ।

महेन्द्रनगर बजारमा यस अघि ५ रुपियाँमा फाराम सर्वत्र पाइने तर हाल भने ‘भीमदत्त नगरपालिका’ अंकित फाराम १२ रुपियाँमा किन्नुपर्ने बाध्यता शिक्षकलाई रहेको छ। भीमदत्त नगरपालिकाको कर्मचारीको मिलेमतोमा बजारमा एक ठाउँबाट मात्र फाराम वितरणका लागि दिएको आशंका व्यक्त गरिएको छ।

नीतिगत रुपमा भित्रभित्रै व्यापारीसंगको सेटिङमा ‘भीमदत्त नगरपालिका’ उल्लेखित फाराम बिगतभन्दा बढी शुल्कमा किन्नुपरेको शिक्षकको आरोप छ। ‘थोरै पैसाको विषय भएकाले बोलेका थिएनौँ, थोरैथोरै गरेर नै यसरी नीतिगत रुपमा भ्रष्टाचार हुँदै छ।’ –एक शिक्षकले भने।

उता तलबी माग फाराम शिक्षक स्वयम्ले बनाउनुपर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। शिक्षक स्वयम्ले घरमै बनाउन सक्ने फारामलाई बजारबाट शुल्क हालेर किनिराख्नु नपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले बताए। ‘यसमा हाम्रो केही छैन, खासमा यो फाराम शिक्षक आफैंले बनाउनुपर्ने हो।

बजारबाट किनिराख्नुपर्ने अवस्था नै रहँदैन।’ उनले भने, ‘भीमदत्त नगरपालिका उल्लेख भएको फाराम ल्याउने कुरा भएको हो तर कुनै एउटा निश्चित स्थानबाट ल्याउने भनिएको छैन।’

केही दिनअगाडि तलबी माग फारामको नमुना आफूहरूले दिएको र त्यहीअनुसारको फाराम बनाएर ल्याउन भनिएको थियो। शिक्षक आफैंले निर्माण गर्नुपर्ने फाराम बजारबाट किन्दा व्यापारीहरूले आफ्नो नियमअनुसार शुल्क लगाउन सक्ने र सो शूल्क लगाउने कुरामा नगरपालिकाको कुनै भूमिका नरहने भीमदत्त नगरपालिकाका कर्मचारीले बताए।

प्रत्येक चार/चार महिनामा शिक्षकहरूले तलब माग फाराम भर्नुपर्ने हुन्छ। भीमदत्त नगरपालिकाअन्तर्गत करिब ५२ वटा सामुदायिक विद्यालय रहेका छन्। प्रत्येक विद्यालयमा बढीमा २–३ वटा तलबी माग फाराम शिक्षकहरूका लागि आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्