प्रजिअ बस्नेतको जाजरकोट कार्यकाल सफल



नेपाल समाचार, जाजरकोट।जाजरकोटमा १५ महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेर पर्सा जिल्ला सरुवा हुनुभएका प्रजिअ ललितकुमार बस्नेतलाई बुधबार कर्मचारी मिलन केन्द्र जाजरकोटले औपचारिकरूपमा विदाइ गरेको छ।

जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनबहादुर रावल, कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह, जिल्ला न्यायधीश देवकुमार गिरी, भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती, बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाह, कुसे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतलगायतको उपस्थितिमा प्रजिअ बस्नेतलाई विदाइ गरिएको हो।

विदाइ समारोहलाई सम्बोधन गर्नुहुँदै प्रजिअ बस्नेतले जाजरकोटका जनप्रतिनिधि, पत्रकार, नागरिक समाज, सरकारी कार्यालयका कार्यालय प्रमुख एवं जिल्ला प्रशासन कार्यालयका कर्मचारीको रचनात्मक सहयोगले आफ्नो कार्यकाल सफलतापूर्वक बितेको बताउनुभयो।

आजको कर्णाली प्रदेश अभाव र गरिबीले ग्रस्त भई अविकसित सूचीमा रहेकोले आगामी १० वर्षपछि गरिबी, अभाब र अविकसित अवस्थामा नरहने प्रजिअ बस्नेतले आशा व्यक्त गर्नुभयो। जाजरकोट जिल्ला मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, जाजरकोट–जुम्ला सडकलगायतका राष्ट्रिय सडक सञ्जालभित्र भएकोले अन्तराष्ट्रिय व्यापारिक केन्द्र बन्ने सम्भावना रहेको प्रजिअ बस्नेतले बताउनुभयो।

प्रजिअ बस्नेतले कर्णाली प्रदेशको मध्य मागमा रहेको जाजरकोट जिल्ला ४ सय १७ मेघावाटको नलगाड हाईड्रो पावर, बहुमूल्य प्रजातिका जडिबुटी, रत्नपत्थरलगायतका वनस्पती र खनिजबाट सम्पन्न भएकोले यहाँको विकास र आर्थिक समृद्धी छिटो हुने आँकलन सुनाउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्