सदरमुकाम उराठलाग्दो, सबै व्यापारीको गाउँ फर्के



ललित सिंह, चैनपुर। होटेल व्यवसाय गरेर १५ वर्षसम्म बझाङको सदरमुकाम चैनपुरमा बस्नुभएका दुर्गाथली–५ की धनलक्ष्मी विष्ट मासिक घरभाडासमेत तिर्नपुग्ने कमाइ नभएपछि सदरमुकाम चैनपुर छोडर गाउँमै फर्केको बताउनुहुन्छ।
विष्ट भन्नुहुन्छ– ‘बजारमा विष्ट होटल एन्ड लजको नामले परिचित होटल थियो।

होटलकै आम्दानीले जेठो छोरा एचए (हेल्थ असिटेन्ट) र कान्छो छोरालाई ओभसियर पढाएँ। छोरी र बुहारीलाई पनि उच्च शिक्षा पढाउँदै थिएँ। देश संंघीयतामा गयो। सिहंदरबारको अधिकार गाउँमा भन्ने भएपछि सबै काम गाउँमै हुन थाल्यो। बजारमा मान्छे आउन छाडे।’

विष्ट बताउनुहुन्छ– ‘पहिले दैनिक १०–१५ हजार आम्दानी हुने होटलमा ५ सयको कमाइसमेत मुस्किलले हुने भएपछि गाउँमै फिर्ता भएर चौधारी डाँडामा रहेको पुरानो घर मर्मत गरेर होटल व्यवसाय गर्न थालेकी छु।’

देशमा संघीयता आएपछि गाउँपालिका, नगरपालिका र वडामा सबै अधिकार प्राप्त हुनुका साथै निजी र सरकारी बैंकसमेत गाउँमै गएपछि सदरमुकाम चैनपुरमा गाउँबाट नेपाली नागरिकता लिनेबाहेक अरू मान्छे निकै कम आउने गरेका छन्।

अहिले सदरमुकामका व्यापारीले व्यापारमा घाटा ब्यहोरिरहेको स्वर्णिम बझाङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक मोहनबहादुर सिंह बताउनुहुन्छ।

सिंहले भन्नुभयो– ‘पहिले रेिमट्यान्सबाट मात्रै दैनिक ५ देखि १० हजारसम्म आम्दानी हुने भए पनि अहिले मुस्किलले १५ सयदेखि २ हजारसम्म आम्दानी हुन्छ। जनताले घरमै बसेर सेवा पाएकोमा निकै खुसी लागेको छ। तर व्यापार छोड्न सकिँदैन। बजारमा घरधनीले मासिकरूपमा पहिलेझैं भाडा लिन्छन्। आम्दानी नहुने भएकाले कुन दिन टाट पल्टिइन्छ भने चिन्ताले सताएको छ।’

बझाङको सदरमुकाम चैनपुर १० गाउँपालिका र २ नगरपालिकाको केन्द्र भए पनि देशमा संघीयता आएसँगै शक्ति र अधिकार विकेन्द्रित हुँदा अहिले हरेक गाउँपालिका र नगरपालिकाबाट नेपाली नागरिकताको प्रमाणपत्र बाहेक दैनिक बैंकिङ कारोबार, शिक्षा, स्वास्थ्य, कृषि र पशु सेवा, विभिन्न कसिमका सिफारिस, शिक्षक तथा कर्मचारीको तलब भत्ता, नुन र खाद्यान्न, दैनिक उपभोग्य सामानलगायतका वस्तु तथा सुबिधा गाउँमै प्राप्त भएपछि सदरमुकाम चैनपुरको पुरानो रौनक निकै घटेको स्थानीय हिरेन्द्र छत्यालले बताउनुभयो।

छत्यालले भन्नुभयो– ‘चौमासिकरूपमा शिक्षकले तलब लिन आउँदाको दृष्य र दैनिक बजारमा सरकारी काम गर्ने कर्मचारी र किनमेल गर्ने व्यक्तिको बाक्लो उपस्थिति अहिले नहुने भएकोले बझाङ सदरमुकाम उराठ लाग्दो देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्