विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट लागू गर्न माग



नेपाल समाचारपत्र, बैतडी।बैतडीको गोकुलेश्वरमा रहेको कृषि तथा पशुविज्ञान कलेजबाट विद्यार्थी संगठन र स्ववियु खारेज नगर्न नेत्रविक्रम चन्द विप्लव समूहको विद्यार्थी संगठनले चेतावनी दिएकोे छ। विप्लव समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले एक विज्ञप्ति जारी गर्दै कलेजबाट विद्यार्थी संगठन र स्ववियु खारेज नगर्न कलेज प्रशासनलाई चेतावनी दिएको हो।

उक्त संगठनका बैतडी जिल्ला संयोजक सुरेन्द्र धानुकद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वरमा क्याम्पस प्रमुख र केही विद्यार्थी संगठनद्वारा संगठन र स्ववियु खारेज गर्ने निर्णयका विरुद्धमा संघर्ष गरिनेछ,’ भनिएको छ।

गएको साउन पहिलो साता बसेको कलेज सञ्चालक समितिको बैठकले कलेजमा रहेका सबै विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गर्ने निर्णय गरेको थियो। विद्यार्थी संगठन एकआपसमा भिड्ने गरेकाले कलेजकै वातावरण असुरक्षित भएको र पठनपाठनमा अवरोध आएको भन्दै संघ–संगठन र स्ववियु खारेज गरेको कलेज प्रशासनले जनाएको थियो।

जिल्लामा रहेका सरकारी विद्यालयमा लगाइएको शुल्क, निजी विद्यालयमा लगाइएको चर्को शुल्क, सीटीईभीटीका प्राविधिक मापदण्डविपरीत लगाइएको शुल्क र सरकारी विद्यालयमा भइरहेको अनियमितताका विरुद्धमा संघर्ष गर्ने विज्ञप्तिमार्फत जनाइएको छ।

यसका साथै यातायातमा विद्यार्थीले नियमानुसार पाउँदै आएको भाडादरमा ४५ प्रतिशत छुट विभिन्न बाहानामा रोकिएको भन्दै तत्काल कार्यान्वयन नगरिए जनकारबाही हुनेसमेत चेतावनी दिइएको छ।

विज्ञप्तिमा आफ्ना विद्यार्थी नेतामाथि राज्यद्वारा भइरहेको प्रतिबन्धित व्यवहार, झुठा मुद्दा, धरपकड र गिरफ्तारीका विरुद्धमा समेत सशक्त प्रतिरोध गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्