जरोटुप्पोमा मोतीको चर्चा



नेपाल समाचारपत्र, पोखरा।जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १५४औं मोतीजयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ।

कार्यक्रमको उद्घाटन गर्दै जरोटुप्पो संरक्षण साहित्य समाजका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले नेपाली वाङ्मयको जरो भानुभक्तको ज्योति चम्काउने काम मोतीराम भट्टले गरेकाले दुवै साधकका जयन्तीमा संस्थाले विशेष आयोजनाका साथ कार्यक्रम मनाउने गरेको बताउनुभयो।

प्राडा विष्णुप्रसाद पौडेल मोतीरामका आयामहरू कार्यपत्र प्रस्तुत गर्दै साधकका सम्झनामा हुने कार्यक्रम सिर्जनात्मक हुनुपर्नेमा जोड दिनुभयो।

समारोहमा नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले जरोटुप्पो संरक्षण साहित्य समाजले सकारात्मक सोच अघि सारेकाले खुसी व्यक्त गर्दै आफूबाट सम्भव सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यपत्रमाथि टिप्पणी गर्दै गनेस पौडेलले कार्यपत्रमा केही नवीनता देखिए तापनि पुराना कुरा दोहोरिएको बताउनुभयो। कार्यपत्रका बारेमा गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतम, सिर्जनशील लोकतान्त्रिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीले पनि टिप्पणी गर्नुभएको हो।

सोही समारोहबीच ताराप्रसाद तिमिल्सिना, छन्दिका त्रिपाठी, गोविन्दप्रसाद पराजुली, विष्णुप्रसाद पराजुली, अम्बिकाप्रसाद भट्टराई, सपना तिमिल्सिना, सविना कार्की, ढुण्डीराज ज्ञवाली, सिर्जन ज्ञवालीलगायतले रचना वाचन गर्नुभएको थियो। संस्थाका सचिव मदन भण्डारीले अग्रज स्रष्टा कविवर तेजनाथ घिमिरेद्वारा शुभकामना स्वरूप प्राप्त संकल्प शीर्षकको कविता वाचन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्