शान्ति प्रक्रिया नटुंगिएकोमा वार्ताका सहजकर्ता असन्तुष्ट



नरेन्द्र केसी, घोराही, दाङ।तेह्र वर्षअघि शुरू भएको शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेको भन्दै शान्तिवार्ताका मध्यस्थकर्तासमेत रहेका नागरिक अगुवाहरूले असन्तुष्टि जनाएका छन्।

दाङको हापुरेमा भएको सरकार–माओवादी वार्ताको १६ वर्षपछि सोही स्थानमा आयोजितमा शान्ति तथा समृद्धि सम्मेलनमा सहभागी नागरिक अगुवाहरूले त्यस्तो असन्तुष्टि जनाएका हुन्।

हापुरे वार्ताका मध्यस्थकर्तासमेत रहनुभएका पूर्वसभामुख दमननाथ ढुंगानाले अहिले पनि युद्ध जारी रहेको बताउनुभयो। ‘युद्धरत पक्षलाई सत्तामा लैजानु मात्रै शान्ति प्रक्रिया होइन’,उहाँले भन्नुभयो– ‘बेपत्ता, मृतकका परिवार तथा घाइते अपांगको अवस्था उस्तै छ, अहिले पनि परिवर्तन सुनिश्चित भइसकेको छैन, त्यसैले शान्ति अझै सुरक्षित भइसकेको छैन।’

हिंसा र आतंकको पुनरावृत्ति हुनु पनि शान्ति जोखिममा रहेको संकेत भएको उल्लेख गर्दै उहाँले विप्लवको असन्तुष्टिको जिम्मा कसले लिने भन्दै प्रश्न गर्नुभयो।

अहिलेसम्मका सरकारहरूले परिवर्तन संस्थागत गर्ने र शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा गम्भीरता नदेखाएको आरोप लगाउँदै उहाँले यो सरकारले पनि चासो नदेखाएको तर यो सरकारले चुनौती महशुस गरे शान्ति प्रक्रिया टुंगिनसक्ने बताउनुभयो।

पूर्वशान्ति मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले अझै पनि दलहरूबीच सहमतिको आवश्यकता रहेको भन्दैसहमतिमै अघि बढ्नुपर्दा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन समय लागेको बताउनुभयो।

सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता आयोगलाई पूर्णता दिएर एक वर्षभित्र शान्ति प्रक्रिया टुंग्याउने पनि उहाँले बताउनुभयो। अब गणतन्त्र कसैले खोस्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले रगतसँग साटेर ल्याएको गणतन्त्रको विकल्प गणतन्त्र मात्रै भएको बताउनुभयो।

दिगो शान्तिका लागि वर्गहरूको अन्त्य जरुरी रहेको औंल्याउँदै उहाँले आर्थिक क्रान्ति र समान वितरणका लागि समाजवादमा जानुको विकल्प नरहेको औंल्याउनुभयो।

नागरिक अगुवा एवं शान्ति वार्ताका सहजकर्ता श्याम श्रेष्ठले हरेक देशमा पाँच चरणमा शान्ति प्रक्रिया सकिने उल्लेख गर्दै नेपालमा दुईवटा चरण मात्रै पूरा भएकाले शान्ति प्रक्रिया बाँकी रहेको बताउनुभयो।

दुई सेना र दुई राज्यको अन्त्य, राज्य पुनर्संरचना, आर्थिक–सामाजिक–सांस्कृतिक क्रान्ति, राज्ययन्त्रमा व्यापक सुधार र पीडितलाई न्याय गरी पाँच चरणमा शान्ति प्रक्रिया टुंगिने औल्याउँदै उहाँले माथिका दुई चरण पूरा भए पनि तीन चरण बाँकी नै रहेको बताउनुभयो।

उहाँले शान्ति र क्रान्तिको रेखासँगसँगै अघि बढेपछि मात्रै शान्ति प्रक्रिया सफल हुने पनि बताउनुभयो। दुई हजार वर्ष पुरानो राजतन्त्र अन्त्य हुनु ऐतिहासिक उपलब्धि भएको औल्याउँदै उहाँले संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सावल पनि थप उपलब्धि भएको बताउनुभयो।

‘राजनीतिकरूपमा गणतन्त्र आएर पनि संस्कारगतरूपमा अझै यसको अभ्यास हुनसकेको छैन’– उहाँले भन्नुभयो– ‘श्रीपेज नलगाएका राजाको संस्कार नेताहरूमा रहँदासम्म गणतन्त्र आएको मानिँदैन, सिंहदरबार बदल्न गएका नेतालाई सिंहदरबारले बदलिरहेको छ, यो क्रम रोकिनुपर्छ।’

त्यसका लागि जनताले पनि चाकडी र भनसुन होइन, बिधिमा आधारित व्यवस्थामा विश्वास गर्नुपर्ने उहाँको सुझाव थियो। बबई गाउँपालिका र रिपोटर्स क्लब दाङले शान्ति तथा समृद्धि सम्मेलन आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्