डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

विशिष्ट व्यक्ति भएकाले मात्र आईसीयूमा राखिएको, अवस्था सामान्यः अस्पताल



भगवती तिमल्सिना, काठमाडौं। डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ।

खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पताल भर्ना हुनुभएको छ।मन्त्री खनाल मंगबार साँझ टाउको दुख्ने र ज्वरो आउने समस्यापछि परीक्षणका लागि निदान अस्पताल पुग्नुभएको थियो। अस्पतालले उहाँलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा डेंगुको परीक्षण गराउन पठाएको थियो।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार मन्त्री खनालको उपचारका लागि विशेष टोली बनाएर खटाइएको छ। मन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार जारी रहेको समयमा भेटघाट बढी भएकाले नियन्त्रण गर्न गाह्रो भएर आईसीयूमा सारिएको छ तर उहाँलाई आईसीयू सेवा प्रयोग गर्नुपर्दैन, पाण्डेले भन्नुभयो– ‘अरू संक्रमण नहोस् भन्ने कुरामा भने हामी सचेत छौं।’

‘उपचारमा म आफैं प्रत्यक्षरूपमा लागिरहेको छु। नेपालको उच्च तहको मन्त्रीजस्तो मान्छे हामीलाई नै विश्वास गरेर आउनुभएको छ, हामीले सक्ने जति गर्नुपर्यो नि !’, डा. पाण्डेले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘मन्त्री खनाललाई संघन उपचारका लागि राखेको होइन, भीआईपी उपचार भन्नुहोला।’

मन्त्री खनालको उपचारका लागि विशेषज्ञसहितको टोली बनाएर उपचार थालेको छ। जसमा डा. सुवास आचार्य, डा. प्रज्ज्वल श्रेष्ठ, डा. विनय रेग्मी र डा. प्रभात अधिकारी हुनुहुन्छ। डा. पाण्डेले उपचारमा कुनै कमी हुन नदिन हामीले सक्दो कोशिस गरेका छौं। स्वास्थ्यबारे खासै चिन्ता गर्नुपर्ने अवस्था छैन भन्नुभयो।

वैशाखदेखि शुरू भएको डेंगु ५८ जिल्लामा देखापरिसकेको छ, जसबाट टेकु अस्पतालकै दुई चिकित्सकसहित ११ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।

चितवनमा डेंगुसँगै स्क्रब टाइफसका कारण तीन जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य कार्यालय चितवनले गत साता नै स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट बुझाएअनुसार मृत्यु हुनेमा ७१ वर्ष र ३४ वर्षका पुरुष तथा १६ वर्षकी युवती रहेको रिपोर्टमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साताअघि डेंगु नियन्त्रणका साढे तीन महिनादेखिका सबै प्रयास विफल भएकाले अब सरकारको काबुमा डेंगु नरहेको औपचारिक जानकारी गराइसकेको छ। चितवनमा ३० प्रतिशतसम्म मृत्युको जोखिम रहने स्क्रब टाइफसको संक्रमण साउनयता ४० जनामा भेटिसकिएको छ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गत सोमबार टेकु अस्पतालको निरीक्षण गरी त्यहाँ उपचार गराउन आएका डेंगुका बिरामीको निःशुल्क उपचार गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक, अस्पतालका निर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकहरूले टेकु प्रयोगशालाका निर्देशकलाई निर्देशन दिनुभएको थियो।

राज्यमन्त्रीको निर्देशनअनुसार डेंगु परीक्षण गरी प्रमाणित भएपछिको उपचार निःशुल्क भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, वाकवाक लाग्ने जस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्नुहुन्छ।

‘केही दिनदेखि टेकु अस्पतालमा डेंगुका बिरामी दैनिक सयका हाराहारीमा आउने गरेका छन्। यो अवस्था नियन्त्रणमा आएन भने काठमाडौंमै डेंगुको महामारी फैलन सक्छ।’ –डा. पुन भन्नुहुन्छ।

चितवन डेंगुका लागि उर्वर

लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्दछ। केही वर्षयता चितवन डेंगु रोगका लागि उर्वर क्षेत्रका रूपमा चिनिँदै आएको छ।

साउनयता डेढ महिनाको अवधिमा १ हजार ३ सय ५६ जनामा परीक्षण गर्दा ४ सय ३३ जनामा डेंगुको संक्रमण देखिएको चितवन अस्पतालले जनाएको छ।

सन् २००६ मा चितवनबाटै शुरू भएको डेंगु रोगले २०१० मा आइपुग्दा महामारीको रूप लिएको थियो। यस वर्ष छिट्टै रोगीको संख्या वृद्धि भएको र महामारीको रूप लिएको रिपोर्टमा उल्लेख गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वैशाखको पहिलो साता सुनसरीबाट शुरू भएको डेंगु संक्रमण ५८ जिल्लामा फैलिकेको छ। डेंगुका साथमा स्क्रब टाइफससमेत थपिएपछि समस्याले झन् जटिल रूप लिएको छ। यति बेला कर्णाली प्रदेशबाहेकका सबै प्रदेशमा डेंगुको संक्रमण फैलिएको अवस्था छ।

राजधानीको नदीकिनार बढी प्रभावित

काठमाडौं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी डेंगुको संक्रमण १५ वडामा देखिएको छ। कामपा क्षेत्रमा करिब ८९ जनालाई डेंगुको संक्रमण देखिइसकेको छ।

‘तर, यी सबै स्थानीय नागरिक होइनन्, खास १५ जना स्थानीयमा भने डेंगुको संक्रमण देखिएको हो।’ –१५ नम्बर वडाका अध्यक्ष एवं कामनपा प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो। यस वडामा पर्ने शोभा भगवती र चमती क्षेत्रमा सबैभन्दा बढी संक्रमण देखिएको उहाँको भनाइ छ।

उहाँका अनुसार सो वडामा सात जनालाई संक्रमण देखिएको छ। महानगरभित्र विष्णुमती, टुकुचा, धोबीखोला, बागमती, इच्छुमतीलगायतको खोलावरपर बस्ने स्थानीय डेंगुको अधिक जोखिममा छन्।

डेंगु रोकथामका लागि आजसम्म प्रभावकारी कदम नचालिएको स्थानीयको भनाइ छ। तर, प्रवक्ता डंगोल डेंगु नियन्त्रण गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका, स्वाथ्यकर्मीलगायतका स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुहुन्छ।

कामपा वातावरण व्यवस्थापन र जनस्वास्थ्य विभागले डेंगु नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। कामपाको तथ्याङ्कअनुसार महानगरको वडा नम्बर १२, १३, १५, १६, २६, २१, २२, २५ र २७ वडामा डेंगुको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्