जापानका प्रधानमन्त्री भारत जाने



जापान । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सिन्जे आबेका बीचमा रूसमा भेटवार्ता भएको छ ।

पूर्वी आर्थिक मञ्चको पाँचौँ बैठकमा भाग लिन रूस आएका बेला बिहीबार मोदी र आबेबीच भेटवार्ता भएको हो ।

उहाँहरुले आपसी हित, सहकार्य, सम्वन्धका साथै क्षेत्रीय सरोकारका विषयमा कुराकानी गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

साथै भेटवार्तामा जापानका प्रधानमन्त्री आबे आउँदो डिसेम्बरमा भारतमा हुने बार्षिक एक शिखर सम्मेलनमा सहभागी हुन भारत जाने तय भएको छ ।

दुई पक्षीय भेटमा सँगै रहनुभएका भारतका विदेश सचिव विजय गोखलेले भेटपछि आबे भारत आउने निश्चित भएको जानकारी दिनुभयो ।

उहाँले सम्मेलन डिसेम्बरमा हुने तय भएपनि कति गते हुने भन्ने बारेमा भने एकीन भइनसकेको पत्रकारहरूलाई बताउनुभयो ।

सम्मेलन अघि दुवै देशका दुई–दुई मन्त्रीको बैठक गराउने बारेमा पनि दुई प्रधानमन्त्री सहमत भएको गोखलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलनअघि भारत र जापानका विदेश र रक्षा मन्त्रीहरूको संयुक्त बैठक हुने भएको छ । मन्त्रीहरूको बैठकले सम्मेलनका लागि आवश्यक पूर्वतयारी गर्ने भएको छ ।

रूसमा हुने सम्मेलनमा सहभागी हुन जापानका प्रधानमन्त्री सिन्जे आबे तीन दिने भ्रमणका लागि हिजो रूस आउनु भएको हो भने उहाँले आजै रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई समेत भेट्ने कार्यक्रम थियो ।

रूसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एशियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

सन् २०१४ मा क्रिमियालाई रूसमा गाभेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएको थियो । त्यसपछि रूसले शक्ति सन्तुलनका लागि यो मञ्च स्थापना गरेको हो ।
रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्