कुखुरा कराएको भन्दै कुखुराविरुद्ध मुद्दा



न्युज अफ नेपाल, काठमाडौं । तपाइले कुखुरालाई मुद्दा परेको सुन्नुभएको छ? तर फ्रान्समा कुखुरा विरुद्ध मुद्दा परेको छ । फ्रान्सको एक अदालतले माउरिस नामक कुखुरोलाई मनलाग्दी कराउन दिने पक्षमा फैसला दिएको छ । बिहानबिहान उक्त कुखुरोले कराएपछि उसका विरुद्ध अदालतमा मुद्दा परेको थियो ।

कुखुरो बिहानबिहानै कराएर हल्ला भएको भन्दै एक जोडीले मुद्दा हालेको थियो । तर न्यायाधिकरणले मुद्दा हाल्ने जोडीविरुद्ध माउरिस कुखुरोका मालिक कोरिन फेस्सेउलाई एक हजार युरो क्षतिपूर्ति दिन भनेको छ ।

‘म शब्दविहीन छु । मेरो परिस्थितिमा रहेका सबैजनाका लागि यो विजय हो । यो अरूका लागि नजिर बन्छ जस्तो लाग्छ । अब चर्चको घण्टी, भ्यागुतोको टर्टरको आवाजलाई पनि कसैले चुनौती दिन सक्दैन । गाउँको आवाज जोगाउनका लागि माउरिस कानून बनाउने कि रु,’ कोरिनले भने ।

फेस्सेउ र माउरिसका प्रतिरक्षक वकिल जुलीएन पापिन्युले फ्रान्सेली कानून अन्तर्गत विघ्नबाधा भएको प्रमाणित गर्नुपर्ने र त्यसो नगरिएकाले आफूहरूको विजय भएको बताए ।

फेस्सेउ र उनका छिमेकीहरूबीच पश्चिमी फ्रान्सको इले दोलेरोंमा दुई वर्षदेखि कुखुरोको विषयमा विवाद थियो । माउरिसले बिहान साढे ६ बजे चर्को आवाज निकाल्ने गरेको भन्दै छिमेकीहरूले मुद्दा हालेका थिए । आवाजका कारण आफूहरूले बिदाका बेलामा अनुभव गर्न चाहेको शान्ति भंग भएको उनीहरूको गुनासो थियो ।
यो मुद्दाका कारण फ्रान्समा निकै ठूलो बहस भएको थियो अनि पक्ष र विपक्षमा मानिसहरू विभाजित भएका थिए ।

द गार्डियनबाट

प्रतिक्रिया दिनुहोस्